Comments Add Comment

Advertisment

SKIP THIS

गैँडा तस्करीमा एकै परिवारका तीन जना संलग्न

१३ असोज , काठमाडौ । विसं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा मर्‍यो ।

निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजनाअनुसार गैँडाको खाग बिक्री गर्न सफल भए ।

तस्करले खागका लागि धमाधम गैँडा मार्न थालेपछि निकुञ्जले तस्करको खोजीमा ध्यान दिन थाल्यो । सोही क्रममा निकुञ्ज प्रशासनले चालु आर्थिक वर्ष २०७८/७९ को साउन र भदौमा गरी १४ जनालाई पक्राउ गर्‍यो । चालु आवमा पक्राउ परेकामध्ये छ जनालाई यसअघि नै सार्वजनिक गरिएको छ भने आठ जनालाई मङ्गलबार सार्वजनिक गरियो ।

अनुसन्धानका क्रममा कात्तिकमा गैँडा मार्नमा सात संलग्न रहेको तथ्य बाहिरियो भने तीन जना पक्राउ परे । अझ रोचक के छ भने ती तीनमध्ये दुई जना सहोदर दाजुभाइ हुन् ।

मकवानपुरको मनहरि गाउँपालिका-४ मसिने टोङ्ग्राङ खोला बस्ने वर्ष ३० का जयबहादुर प्रजा र ३६ वर्षीय सिंहराम प्रजा सोही घटनामा संलग्न रहेको निकुञ्जले जनाएको छ । ती दुई दाजुभाइसँगै अर्का भाइ सुरेश प्रजा पनि पक्राउ परेका छन् । यसरी एकैपटक तीन दाजुभाइ गैँडा तस्करी मुद्दामा पक्राउ परेका छन् । सुरेश भने विसं २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा गैँडा मार्न संलग्न रहेको निकुञ्जले जनाएको छ ।

उनीहरुसहित निकुञ्जले मङ्गलबार आठ तस्करलाई सार्वजनिक गरेको छ । चार गैँडा मारी खाग बिक्री गरेको ओरोपमा चालु आवको साउन ३२ देखि भदौ १० गतेसम्ममा पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सो क्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, ‘एउटै परिवारका धेरै सदस्य गैँडा तस्करमा संलग्न हुनु गम्भीर हो, दोषीलाई कडा कारबाही हुने कानुन बन्नुपर्छ ।’

उनले विभिन्न चुनौतीका बाबजुद उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए। ‘ठेगाना परिवर्तन र प्राविधिक समस्याका कारण अझै अभियुक्तलाई समयमै पक्राउ गर्न सकिएको छैन, एउटै व्यक्तिलाई विभिन्न नामबाट सजाय तोकिएका छन्, उनीहरुलाई पक्राउ गर्न कठिन छ’, प्रमुख संरक्षण अधिकृत बरालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै