१२ कात्तिक, काठमाडौ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा गोरखा २ बाट उम्मेदवारी दिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष #पुष्पकमल दाहाल #प्रचण्डको दौडधुप गोरखामा बढेको छ। उनी अहिले गोरखा २ का विभिन्न चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् ।
उनीसँग पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई पनि साथमा छन् । ०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट अध्यक्ष भट्टराई निर्वाचित भएका थिए। तर, जनयुद्धका सहकर्मी समेत रहेका दाहाल भट्टराई अहिले एकै कित्तामा उभिएका छन्।
जनयुद्धकालमा प्रचण्डले गोरखामै बसेर थुप्रै योजना बनाएको सार्वजनिक रूपमै बोल्दै आइरहेका छन्। तर, गोरखासँग प्रचण्डको नाता यतिमै सीमित भने छैन । साढे ४ दशक (४६ वर्ष) अघि नै गोरखासँग प्रचण्डको सम्बन्ध जोडिएको थियो ।
प्रचण्डले २०३३ देखि २०३६ सम्म गोरखाको आरुघाटमा अध्यापन गरेका थिए । त्यस बेला देखि प्रचण्ड र गोरखाको सम्बन्ध जोडिएको थियो । गोरखा पुगेका प्रचण्डले ४६ वर्षअघिदेखि गोरखासँग जोडिएको सम्बन्ध सम्झिँदै भने, ‘४६ वर्ष पहिलेको फ्ल्यास ब्याक भयो । हिजो सँगै पढाएका दौँतरी शिक्षक, किसान दाजुभाइ, दिदीबहिनीसँग प्रचण्डले खुसी साटेँ । प्रचण्ड मर्निङ वाक गर्दै ४६ वर्षअघि आफू बसेको घरमा पुगेँ । नुहाउने धारामा पुगे अनि खाना खाने घरसम्म पुगेर आफ्नो युवावयदेखि नै गोरखासँग जोडिएको सम्बन्ध सम्झिँदै खुसी साटेँ ।’
प्रचण्डको अगुवाइमा ४६ वर्षअघि नै किसानलाई आधुनिक खेती प्रणाली, कम्पोस्ट मलको निर्माणका काम समेत भएको थियो। आरुटारका किसान, शिक्षक तथा अगुवाहरू ४६ वर्षअघिदेखि नै प्रचण्डसँग परिचित छन् ।
आरुघाटमा स्थानीहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरूको अधिकार स्थापित गर्न सफल भएको बताए ।
चुनावी भेटघाटको क्रममा गोरखामा रहेका प्रचण्ड दुई दिनसम्म गोरखा रहने कार्यक्रम रहेको माओवादीका केन्द्रीय सदस्य लेखबहादुर थापा मगरले बताए।







