
२७ असोज , काठमाडौ । राम्रो अभिनय कौशल भएकी अभिनेत्री हुन् लक्ष्मी बर्देवा । त्यसैले होला, काममा उनी सधैँ ब्यस्त छिन् ।

फिल्मका निर्माता, निर्देशकको रोजाइमा पर्न सफल उनको म्युजिक भिडियो, विज्ञापनमा पनि धेरै नै डिमान्ड छ । तर, उनी छानेर, कमै मात्र अभिनय गर्छिन् ।


पछिल्लो समय ‘सेल्फी किङ’ मा अभिनेता विपीन कार्कीको जोडीका रुपमा देखिएकी बर्देवाले ‘माला’ बाट अभिनयमा डेब्यु गरेकी हुन् । छोटो समयमै दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी उनी थियटर कलाकार पनि हुन् ।
अहिले पनि बर्देवाका ‘चपली हाइट ३’, ‘प्रेम गीत ३’, ‘अनन्त’ लगायत ४ वटा फिल्म प्रदर्शन हुन बाँकी छन् । अभिनयबाट सबैको मन जित्न सफल लक्ष्मी चाडपर्व प्रेमी हुन् । उनको मनपर्ने चाड मध्य दसैँ पनि एक हो । बच्चादेखि दसैँसँग बर्देवाको विशेष लगाव रहँदै आएको छ । दसँै आफ्नो मनपर्ने चाड भएको बताउने उनका विगतको दसैँलाई यसरी सम्झन्छिन् ।

टुहुरो महसुस हुन्छ
विवाहपछिको यो दसैँ मेरो तेस्रो हो । तर, अहिलेसम्म मैले सासू ससुराका हातबाट टीका थापेर आर्शिवाद लिन पाएकी छैन । आफ्नै घरमा सासू–ससुराको हातबाट टीका थाप्दाको वातावरण र अनुभव कस्तो हुन्छ । त्यो महसुस गर्न पाएकी छैन । यो त परको कुरो, श्रीमान् जीवनजी समेत घर जान पाउनुभएको छैन । कारण हामीले अन्तरजातीय विवाह गरेका हौं । घरबाट बोलाउने र हामी जाने बिषयमा कुनै पनि कुरो हुँदैन । हामी जाँदा माहोल बिग्रिएला भन्ने डरले गएका पनि छैनौं । फोनमा समेत कुरा हुँदैन । दसैँमा हामी बुढाबुढी मात्रै हुँदा एकअर्काको अनुहार हेरेर माया लाग्छ । टुहुरो भएको फिल हुन्छ ।

त्यो दसैँमा रोएँ
म पाँच कक्षामा पढ्दै थिएँ । एकपटक बुबा कामको सिलसिलामा मलेसिया जानुभएको थियो । उहाँ विदेश गएको पहिलो पटक भएकाले त्यो दसैँ मेरा लागि जीवनकै नरमाइलो दसैँ भयो । दसैँमा सधैं बुबा हामीसँगै हुनुहुन्थ्यो । त्यो समय नभएकाले रुन आयो । बुबा बाध्यताले कामका लागि विदेश जानुभएको हो । तर पनि मन मानेन ।



