२६ मंसिर , काठमाडौँ । काठमाडौंको तारकेश्वर–३ चिसापानीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएसँगै घटनास्थल तनावग्रस्त भएको छ ।
आइतबार राति चिसापानी पेट्रोलपम्प नजिक मोटरसाइकलमा सवार २३ वर्षीय सबिन फुयाँललाई ट्रिपरले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका फुयाँलको उपचारको क्रममा मृत्यु भएको थियो ।
ट्रिपरको ठक्करबाट मृत्यु भएको भनिए पनि उनको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।
चिसापानीमा स्थानीयहरुले घटनाबारे छानबिनको मागसहित आन्दोलन समेत गरेका छन् ।
सडकमा ठक्कर दिए पनि फुयाँल सडकभन्दा केही तल फेला परेका थिए । दुर्घटना भएको भए पनि मृतक फुयाँलको घाँटीमा काटेको जस्तो देखिन्छ । जसको कारण उनको मृत्यु ट्रिपरको ठक्करबाट मात्र नभइ हत्या भएको जस्तो देखिने एक स्थानीयले news24galaxy लाई बताए ।
‘ट्रिपरको ठक्करबाट मृत्यु भएको भनिए पनि उनको शरिर सडकबाट करिब ८ मिटर तल भेटिएको थियो । ठक्करपछि पनि उनीमाथि आक्रमण भएको जस्तो देखिन्छ ।’ ती स्थानीयले भने, ‘मृतकको घाँटीमा काटेको जस्तो देखिन्छ ।’
स्थानीयले विरोध गरेसँगै सो स्थानमा ठूलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ ।









