१५ पुष , काठमाडौं । काठमाडौंको बानेश्वर स्थित के एण्ड के कलेजमा पढ्ने नगेन्द्र लिम्बुको हत्यामा संलग्न आरोपीलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । हत्यामा संलग्न आरोपमा संखुवासभाको मादी नगरपालिका घर भएका पुष्पराज लिम्बु लिङ्थेपलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) कमल थापाले बताए ।
कीर्तिपुर बस्दै आएका पुष्पराज कीर्तिपुर नगरपालिका–३ स्थित ढल्पाबाट पक्राउ परेका हुन् । २०६४ मंसिर १४ मा क्याम्पसमा दुईवटा समूहको बीचमा हेराहेर भएको विषयमा पुष्पराजको समूहले नगेन्द्रको समूहलाई आक्रमण गरेका थिए । शान्तिनगरमा पुष्पराज र २० वर्षीय रोशन लिम्बु सहितका युवाहरुले आक्रमण गर्दा सुनसरीको इटहरी नगरपािलका–१ घर भएका २१ वर्षीय नगेन्द्र घाइते भए । ३ दिनपछि सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको थियो ।
हत्यापछि फरार भएका पुष्पराज लुकीछिपी बस्दै आएका थिए । उनले लामो समय सहकारीमा आबद्ध भएर काम गरेको प्रहरीलाई बताएका छन् । पुष्पराज पनि सो क्याम्पसमा बिएमा पढ्थे । उनको समूहले खुकुरी प्रहार गर्दा रिजन राई घाइते भएका थिए । हत्यामा संलग्न अरु आरोपीहरु अझै फरार छन् ।


