२४ पुष , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्रीलाई ध्यानाकर्षण गर्दै शंकरापुर नगरपालिकाका आन्दोलनरत स्थानीयमाथि ज्यादती नगर्न आग्रह गरेका छन् । उनले यो आग्रह गर्दै गरेको एउटा पोस्टमा सशस्त्र प्रहरीले एउटी वृद्धालाई घिसारिरहेको जस्तो देखिन्छ । उनले फेसबुकमा लेखेका छन् ‘हामीले बिर्सिनुहुँदैन हिजो हामीमाथि तात्कालीन सरकारले दमन गर्दा यिनै नागरिकले साथ दिएका थिए, कुनै सुकिलामुकिलाले होइन ।’
काठमाडौंको साँखुबाट आधा घण्टाको बाटोमा पुगिने शंकरापुर नगरपालिकाको वडा नं ३ यतिबेला आन्दोलनमा छ । बीच बस्तीलाई उठाएर सबस्टेसन बनाउने विद्युत् प्राधिकरणको निर्णयविरुद्ध स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् । प्राधिकरणले २०७३ सालमा नैअमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग अन्तर्गत् विद्युत प्राधिकरणले सबस्टेसन र प्रसारण लाइन बनाइरहेको छ। माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित विजुली काठमाडौं उपत्यका र नेपालका अन्यत्र पठाउनको लागि शंकरापुरको बोझनी भन्ने ठाउँमा सबस्टेसन राख्ने निर्णय गरेको थियो । उनीहरु त्यतिबेलादेखि नै प्राधिकरणको निर्णयविरुद्ध आन्दोलनमा छन् । यदि त्यहाँ स्टेसन राख्ने हो भने प्रशारणलाइन आन्दोलनरत स्थानीयको बस्तीमाथिबाट जाने गर्छ ।
पछिल्लो समय विद्युत प्राधिकरणले यस क्षेत्रमा सब स्टेशन र प्रसारण लाइन बनाउन सर्वेक्षण गर्न थालेपछि एकसाता अघिदेखि स्थानीयवासी निरन्तर आन्दोलनमा छन् । उनीहरु आफ्नो रोजीरोटी र बस्ती गुमाएर बिजुली स्टेसन राख्न नदिने पक्षमा रहेको भन्दै आफ्नो माटो जोगाउन आन्दोलनमा उत्रिनुपरेको बताउँछन् ।
त्यसो त स्थानीय सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले पनि स्थानीयवासीको अहिलेको आन्दोलनलाई समर्थन गरेको छ । शंकरापुर नगरपालिकाको कार्यक्रममा बोझनीमा राख्ने भनिएको सबस्टेसनको स्थानान्तरणको पहललाई महत्वका साथ उल्लेख गरिएको छ । अहिलेको आन्दोलनमा नगरपालिकाले पनि साथ दिइरहेको बुझिएको छ । गत आइतबार शंखरापुर ३ का वडा अध्यक्ष सूर्य तामाङस्थानीयसँगै विरोध प्रर्दशन भेटिएका थिए । उनलाई केहीबेर प्रहरीले नियन्त्रणमा पनि लियो ।
यस अगाडि सब स्टेशन निर्माणको जिम्मा पाएको चिनियाँ र भारतीय कम्पनी स्थानीयको विरोधका कारण काम गर्न नसकेर फर्किएको थियो । यो घटनापछि प्राधिरणका निर्देशक कुलमान घिसिङ, राजनीतिक दलका स्थानीय नेता र प्रमुख जिल्ला अधिकारी नै आयोजना निर्माण स्थलमा पुगेपछि काम पुनस् अघि बढेको थियो । काठमाडौंको शंखरापुर नगरपालिका–३ का पाँच वटा बस्ती बोझनी, पाख्रिन टोल, सोझे, ढोक्साङ, नारायण थानका स्थानीयहरू अहिले आन्दोलनमा उत्रिएका छन् ।





