
२१ कात्तिक , काठमाडौ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ मा रहेको नागढुङ्गाबाट लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना.८ ख ८७६४ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सप्तरी राजविराज नगरपालिका-३ बस्ने २७ वर्षीय सूर्य प्रताप सिंहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले डाइजेपाम ४० एम्पुल, लेजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, नाईट्राभेट ३ सय ७० ट्याब्लेट र स्पास्मो प्रक्सिभन ४ सय १८ क्याप्सूल बरामद गरेको छ ।
यता कञ्चनपुर बेलौरी नगरपालिका-४ बेलौरी बजारबाट करिब २ ग्राम अवैध लागु औषध खैरो हेरोइन र २ ग्राम अवैध लागु औषध चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय अकास बोहरा र २१ वर्षीय राकेश बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागु औषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








