काठमाडौं । काठमाडौंको बालाजुस्थित माजापोखरीमा प्रहरीको गाडी, प्रहररुी बिट तथा ट्राफिक आइल्याण्डमा तोडफोडका साथै आगजनी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै अभियुक्तहरुलाई सार्वजनिक गरेका हो । विभिन्न सामाजिक सञ्जालहरूमा पोष्ट गरीएका भिडियोहरूको आधारमा हुलिया पहिचान गरी खोजतलास गर्दै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख दान बहादुर कार्कीले बताएका छन् ।

पक्राउ पर्नेमा उदयपुर बलमता गाउँपालिका वडा नं. २ घर भई हाल तार्केश्वर मनमैजु बस्ने वर्ष ४० का बिक्रम राई, जिल्ला नुवाकोट पञ्चकन्या ३ घर भई हाल टोखा बानियाटार बस्ने वर्ष ३० का रामहरी भण्डारी, लमजुङ वेशीशहर घर भई हाल तार्केश्वर बस्ने वर्ष २३ का विवेक श्रेष्ठ रहेका छन् ।
त्यस्तै काभ्रेपलान्चोक मानेडाडाँ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ३१ का राजेश तामाङ, प्युठान कडी घर भई हाल गोंगवु बस्ने वर्ष १८ का दिपेन्द्र पुन मगर र काभ्रेपलान्चोक भुम्लु घर भई हाल गंगाहल बस्ने वर्ष २० का आशिष खड्का रहेका छन् ।

नियन्त्रणमा लिईएका व्यक्तिहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौ जिल्ला अदालतबा तीन दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




