काठमाडौं । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर गायत्रीराज शर्मा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा इन्स्पेक्टर शर्मालाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

लागूऔषध नियन्त्रण र विभिन्न जनचेतना मुलक कार्यक्रम गरेको, समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेको, प्राकृतिक स्रोत साधनको चोरी तस्करीमा संलग्नलाई नियन्त्रणमा लिई कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको साथै आफुलाई तोकीएको जिम्मेवारी ईमान्दार, अनुशासित, कर्तव्यनिस्ठ भई तदारुकता साथ सम्पन्न गरी प्रहरी संगठनको गरीमा उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले इन्स्पेक्टर शर्मालाई जिल्लाकै उत्कृष्ट प्रहरी घोषणा गरीएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहन बहादुर खांडले बताए ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिनामा पुरस्कृत गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।




