काठमाडौं / सरकारले महिलालाई सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा भिजिट भिसा लिएर खाडी मुलुकमा घरेलु कामदारका लागि जान नपाउने व्यवस्था गरेको छ । तर, भिजिट भिसाको दुरुपयोग गर्दै एजेन्टले प्रतिबन्धित मुलुकमा घरेलु कामदारका लागि लैजाने क्रम रोकिएको छैन ।
मानव तस्करको समूहले भिजिट भिसामा विदेश लैजान लागेको आशंकामा डेढ महिनाको अबधिमा पाँच सय ८२ जनालाई मानव बेचबिखन ब्युरोको टोलिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ ।

भिजिट भिसामा मानव तस्करी बढेको गुनासोपछि मानव बेचबिखन ब्युरोले कडाइ थालेको हो । शंकास्पद कागजपत्र भएकालाई दैनिकजसो प्रहरीले विमानस्थलबाट फर्काउँदै आएको छ । छानबिनका क्रममा ती कागजपत्र नक्कली भएकोसमेत पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानमा कतिपय महिलालाई दुबई हुँदै सिरिया र इरानमा बिक्रीका लागि लैजान लागिएकोसमेत पुष्टि भएको छ ।
मानव बेचबिखन तथा ओसारपसारमा पर्न सक्ने उच्च जोखिम रोक्न र न्यूनीकरणका लागि ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरी अधिकारीले परामर्श दिँदै आएका छन् । ‘काम गर्नकै लागि जानुहुन्छ भने सरकारले तोकेको मापदण्ड पुर्याएर जानुस्, प्रक्रिया पुर्याउनुस् भनेर परामर्श दिने गरेका छौं,’ मानव बेचबिखन ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए ।
‘एजेन्टले आर्थिक अवस्था न्यून भएका मान्छे खोज्ने, पासपोर्ट आफैं बनाइदिने, गाउँदेखि काठमाडौंसम्मको यातायात खर्चको व्यवस्था गर्ने, होटल खर्च दिने, एयरलाइन्सको टिकट, आतेजाते खर्चको व्यवस्था गरिदिन्छन्,’ उनले भने, ‘भिजिट भिसामा दुबई हुँदै कुवेत, ओमन, जोर्डनलगायत खाडी मुलुकमा घरेलु कामदार सप्लाई गर्ने पाइएको छ ।’ खाडी मुलुकमा बसेर एजेन्टको काम गर्ने व्यक्तिले नेपाली एजेन्टसँग सम्पर्क गरी नयाँ–नयाँ मान्छे खोज्न लगाउने गरेको अनुसन्धानबाट खुलेको उनले बताए । विमानस्थलबाट फर्काइएका महिलाले राहदानी बनाउनेदेखि दुबई उडाउने तथा दुबईबाट कुवेतसम्म पुर्याउन एजेन्टले शुल्क नलिएको बताउँछन् । तर, घरेलु कामदार पठाएबापत प्रतिव्यक्ति ३० देखि ५० हजार रुपैयाँ कमिसन लिने गरेको अनुसन्धानमा खुलेको ब्युरो प्रमुख जीवनकुमार श्रेष्ठको भनाइ छ ।

खासगरी खाडी मुलुक कुवेत, ओमनलगायत र त्यहाँबाट पनि सिरियालगायतका मुलुकमा घरेलु कामदारका रूपमा काम लगाउने पाइन्छ । त्यहाँ भाषा नजान्दा र सीपको कमजोरीका कारण यातना भोग्नुपर्ने, यौन शोषण, शारीरिक तथा मानसिक दबाब, श्रम शोषण र आर्थिक शोषणमा पर्ने देखिन्छ,’ उनले भने, ‘त्यस्ता पीडितले उद्धार गरिदिनुपर्यो भन्ने सूचना हामीकहाँ धेरै प्राप्त भएका छन्, उद्धारका लागि समन्वयात्मक भूमिका निर्वाह गर्दै उद्धार पनि गर्दै आएका छौं ।’
कुवेत, ओमन, साउदी, कतार, लेवनानलगायत मुलुकमा घरेलु कामदार लैजान पाइँदैन । गृह मन्त्रालयको ‘भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदन’ अनुसार न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतीत गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्ति भिजिट भिसाका लागि योग्य हुन्छन् । त्यस्ता व्यक्तिले न्यूनतम उच्च माध्यमिक तहको औपचारिक शिक्षा वा सो सरहको प्राविधिक/व्यावसायिक सीप दक्षता हासिल गरेको र गन्तव्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषाको राम्रो ज्ञान लिएको हुनुपर्छ ।
खासगरी मानव तस्करहरुले विमानस्थलका उच्च तहका कर्मचारीलाई आर्थिक प्रभावमा पारेर सहजै भिजिट भिसाको नाममा मानवतस्करी गरिरहेका छन् । खुलमखुल्ला मानव तस्करी गर्न सघाउने त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागका कर्मचारीलाई भने सरकारले केही कारबाही गर्नसकेको छैन ।
पछिल्लो समय नेपालबाट भिजिट भिसामा विभिन्न मुलुकमा पुगेर बिचल्ली हुनेहरुको संख्या अत्यधिक छ । उनीहरुलाई दलालहरुले आकर्षक तलबको प्रलोभन देखाएर ती मुलुकमा पुरायर बिचल्ली बनाइरहेका छन् ।







