काठमाडौं, कपनकी निरा आचार्यको हत्यामा संलग्न भएको धेरै आधारहरु देखिएको भन्दै प्रहरीले झापाबाट विनोद विश्वकर्मालाई पक्राउ गरेको हो। पक्राउ परेका विश्वकर्मालाई प्रहरीले झापाबाट काठमाडौं ल्याउँदै छ।
निराको उनकै पसलमा लुटपाट गर्न पुगेका झापाका विनोद विकसँग प्रतिकार गर्ने क्रममा हत्या भएकाे खुलेको छ । पक्राउ परेका विनोदले प्रहरी सँगको प्रारम्भिक बयानका क्रममा निराले लगाएको सुनको सिक्री लुट्न खोज्दा प्रतिकार गर्न खोजेपछि हत्या गरेको बताएका हुन् ।
वैशाख ७ गते अपराह्न निराको हत्या उनकै पसलमा भएको थियो । धारिलो चक्कु प्रयोग गरी करिब २० पटक आक्रमण गरी निराको हत्या गरिएको थियो । हत्या भएको ९ दिनपछि शुक्रबार राति मात्रै आरोपीको पहिचान भएको थियो ।

त्यसलगत्तै प्रहरीले शनिवार बिहानै विनोद बस्ने गरेको काठमाडौँस्थित कोठामा छापा मारी हत्यामा समयमा प्रयोग भएको कपडा र अन्य केही प्रमाण बरामद गरेको थियो । काठमाडौँबाट भागेर झापा पुगेका विकलाई प्रहरीले झापा नै पुगेर पक्राउ गरेको हो ।
हत्यामा संलग्न भनी आरोपित विक पहिले ठमेलको एक क्लबमा बाउन्सरको रूपमा काम गर्ने गरेको पत्ता लागेको छ । सुरुमा निराको हत्या नै गर्ने उद्देश्य नभए पनि लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि निराको हत्या गरी सुनको सिक्री लिएर भागेको प्रहरी स्रोतको दाबी छ ।







