काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्स सि.सं.११ का तालिमरत ३३ जना महासेनानीहरू लगायत जम्मा ३६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।
सो क्रममा उनिहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबसमेतको अवलोकन गरे । साथै उनिहरूले आजै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको समेत अवलोकन भ्रमण गरेका थिए ।

अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको स्मरण गरे ।
अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक कुँवरले विभिन्न जनचेतनामूलक कार्यक्रम लगायत नागरिकले गरेका अपेक्षा अनुसार काम गर्ने दुवै संगठनबीच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी रुपमा एक आपसमा सहयोग हुने चर्चा गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र नेपाली सेनाका सहायक रथी डा.रञ्जित थापाले कृतज्ञताको चिनो आदान प्रदान गरेका थिए ।








