काठमाडौं, नेपाल प्रहरी श्रीमती संघले निःशुल्क ‘उद्यमशिलता विकास तालिम’ सम्पन्न गरेको छ । नेपाल प्रहरी श्रीमती संघको सहकार्यमा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौंले २७ वैशाखदेखि ३ जेठसम्म उद्यमशिलता विकास तालिम सञ्चालन गरेको थियो ।
नेपाल प्रहरी श्रीमती संघको कार्यालय भृकुटिमण्डपमा सञ्चालन गरिएको तालिममा उद्यमशिलताको उपयोगितालाई प्रष्ट पारिएको संघकी अध्यक्ष लक्ष्मी कुँवरले जानकारी दिइन् । उनले थपिन्, ‘उद्यमशील भएर व्यापार कसरी गर्ने ? त्यसको लागि प्रक्रिया कसरी अगाडि बढाउने ? बैंकमार्फत कर्जा कसरी लिने ? लगायतको विषयमा तालिम केन्द्रीत थियो ।’

कुनै व्यक्ति उद्योग व्यवसायको प्रवद्र्धन गर्न वा उद्योग व्यवसायको क्षेत्रमा तालिम तथा परामर्श सेवा प्रदान गरी उद्यमीहरू विकास गर्न चाहन्छ भने उसले उद्यमशीलता विकास प्रशिक्षण तालिम लिनुपर्ने अध्यक्ष कुँवरको भनाइ छ । कार्यक्रममा उनले उद्यमशीलताको उपयोगितालाई छर्लङ्ग पार्दै आउँदा दिनमा अझैं यस्ता कार्यक्रम सञ्चालन गर्दै आउने प्रतिबद्धता जनाइन् ।

यस्ता सीपमुलक र फाइदामुलक कार्यक्रमहरु भइरहने हुँदा थप बुझ्न आवश्यक भए नेपाल प्रहरी श्रीमती संघमा सम्पर्क राख्न समेत अध्यक्ष कुँवरले अनुरोध गरिन् । ‘श्रीमती संघमा कार्यरत सहायक हबल्दार विनोद कठायतलाई ९८४०२५०९३६ नम्बरमा सम्पर्क गरेर झनै यस विषयमा प्रष्ट हुन सकिन्छ,’ अध्यक्ष कुँवरले भनिन् ।
उनले नेपाल प्रहरी श्रीमती संघले प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरणलाई लक्षित गर्दै विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताइन् । ‘नेपाल प्रहरी श्रीमती संघ विशुद्ध सामाजिक र मुनाफारहित संस्था भएकाले यसले गर्ने भनेको सामाजिक कार्य नै हो,‘ उनले भनिन् ।
बुधबारको कार्यक्रममा सिनियर प्रहरी अधिकृतका श्रीमतीहरुदेखि जुनियर प्रहरीका श्रीमतीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।



