विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय तथा इलाका प्रहरी कार्यालय (क) स्तर सम्मका प्रहरी इकाईका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिएका छन् ।

भिडियो कन्फरेन्स मार्फत उनले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई मजवुद बनाउन कार्यरत प्रहरी जनशक्तिलाई थप चुस्तदुरुस्त बनाई परिचालन गर्न निर्देशन दिए ।
खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न, सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउनुका साथै राजश्व चुहावटका घटनाहरुलाई नियन्त्रण गर्न सुन्य सहनशीलता अपनाउन र नेपाली बजारमा बेच्न अयोग्य ठहरीएका वस्तुहरुलाई आयात गर्न नदिन कडाईका साथ निग्रानी राख्न समेत उनले निर्देशन दिएका हुन् ।

यसका साथै उनले निरन्तररुपमा संचालन भईरहेको जनचेतनामुलक कार्यक्रमलाई समेत थप प्रभावकारी बनाई गाउँ गाउँका बस्तीहरुमा रहेका आम नागरिकहरुमा समेत सचेतना फैल्याउन जोड दिए । भिडियो कन्फरेन्समा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको समग्र गतिविधि तथा बस्तुस्थितिका बारेमा प्रदेश प्रहरी प्रमुख बास्तोलालाई अवगत गराएका थिए ।







