Comments Add Comment

Advertisment

SKIP THIS

एमाले महाधिवेशनमा यसरी गरिने छ सुरक्षा व्यवस्थापन

७ मंसिर , काठमाडौ । नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रबन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।

नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनको सुरक्षा व्यवस्था कडा पारिएको हो । जिल्लामा विद्यमान जनशक्ति अपर्याप्त हुने जनाउँदै थप सुरक्षाकर्मी माग गरिएको दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख बताउँछन् । ती दुई जिल्लाको सुरक्षाकर्मीबीच समन्वय भएर सुरक्षा तयारीको काम भइरहेको छ ।

महाधिवेशनका लागि नवलपुरको गैँडाकोटमा मात्रै नेपाल प्रहरीको १०० , चितवनतर्फ ८०० सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ४५० र राष्ट्रिय अनुसन्धानका ९० सुरक्षाकर्मी परिचालन हुँदैछन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले महाधिवेशनलाई लक्षित गर्दै थप जनशक्ति प्रदेश प्रहरी कार्यालय पोखरासँग माग गरिएको जानकारी दिए । ‘हामीले थप सुरक्षाकर्मी प्रदेशसँग माग गरिसकेका छौँ’ उनले भने, ‘बुधबार बिहानसम्म थप सुरक्षाकर्मी जिल्लामा आइपुग्छन् ।’

नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारी साधनलाई गैँडाकोटमा रोकिने जनाउँदै उनले नदी किनारसहितका स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने बताए । नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले बाटोमा जाम हुनसक्ने जनाउँदै यसका लागि समेत ट्राफिक प्रहरी परिचालन गरिने उनले बताए । ‘हामीले नवलपरासी पश्चिम र रुपन्देहीको प्रहरीसँग समन्वय गरेर काम गरिरहेका छौँ’ प्रउमल्लले भने, ‘मङ्सिर ९ गते रातिबाट नै हामीले पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने गरी काम गरिरहेका छौँ ।’

महाधिवेशन उद्घाटन र बन्दसत्र स्थानमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए । एमालेका पदाधिकारीसँग बसेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनबारे छलफल भएको जनाउँदै उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट विशेष योजना बनाएर काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै