११ असार,काठमाडौ । डाक्टर कर्टको उपनामले चर्चा र लोकप्रियता कमाएका डाक्टर दिलजान मन्सुरको क्लिनिकमा काठमाडौं महानगरले आइतबार ताला लगाइ दिएको छ ।
ताला लगाउनुको कारणमा महानगरले भनेको छ – ‘यो क्लिनिकबाट धेरै जनगुनासो आयो । यहाँ उपचार गरेर धेरै बिरामीहरुको स्वास्थ्य अझै बिग्रियो । जाँचबुझ गर्दा क्लिनिक महानगरमा दर्ता समेत गरिएको रहेनछ । यसकारण् हामीले ताला लगाइएको हो ।’
मिडियामै अन्तवार्ता दिएर डाक्टर मन्सुर चर्चामा आएका थिए । वजन घटाउने र मेटाबोलिक सिन्ड्रोम अन्तर्गतका रोगहरुको फरक तरिकाले उपचार गर्ने भनेर उनको प्रशिद्धि बढेको थियो ।
तीन महिनाको प्याकेज भनेर डाक्टर मन्सुरले प्रति बिरामी १० हजार रुपैयाँ लिने गरेका थिए । मन्सुरको उपचार विधि बैज्ञानिक नभएको दावी गर्दै केही बिरामीले नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी दिएका छन् ।
आज भने महानगरले मन्सरको क्लिनिकमा पुगेर भन्यो – ‘आफ्ना कर्मचारीहरुलाई बाहिर निकाल्नूस, अब हामी ताला लगाउँछौं । हेरौं डाक्टर मन्सुरको क्लिनिकमा आइतबार दिउँसो जे देखियो ।’
डाक्टर कर्टका नामले चर्चा कमाएका डाक्टर दिलजान मन्सुरको मैतीदेवीस्थित ‘एफ डिएच क्लिनिक’मा काठमाडौं महानगरले ताला लगाएको छ ।
क्लिनिकले काठमाडौं महानगरको स्वास्थ्य विभागबाट स्वास्थ्य संस्था सञ्चालन गर्ने लाइसेन्स नलिई विगत दुई वर्षदेखि स्वास्थ्य सम्बन्धी गतिविधि गरेको भन्दै महानगरले क्लिनिकमा ताला लगाएको हो ।
एफ डि एच क्लिनिकबारे जनगुनासो आएपछि अनुगमनका क्रममा संस्था नियमानुसार संञ्चालन भएको नपाइएका कारण बन्द गर्नुपरेको जानकारी महानगरका अधिकारीहरुले डाक्टर मन्सुरलाई दिएका छन् ।
डाक्टर मन्सुरले लाइसेन्स माग गर्न भर्नुपर्ने अनुसूची फारमलाई नै आफ्नो वैधानिक प्रमाणपत्र रहेको दावी गर्दै आफ्नो क्लिनिक अवैध नरहेको बताएका थिए ।
तर उनले प्रस्तुत गरेको कागजात स्वास्थ्य संस्था सञ्चालन गर्ने लाइसेन्स नभएर अनुसूची फारम मात्रै भएको खुलासा भएको थियो ।
अनुगमनका लागि पुगेको काठमाडौं महानगरको टोलीले डाक्टर मन्सुरको क्लिनिकमा कम्पनी रजिष्टार कार्यालयमा भएको दर्ता, आन्तरिक राजस्व कार्यालयमा गरिएको दर्ता र काठमाडौं महानगरभित्र कर प्रयोजनका लागि गरिएको व्यवसाय दर्ता प्रमाणपत्र मात्रै फेला पारको थियो ।
योसँगै क्लिनिकमा नेपाल मेडिकल काउन्सिलबाट सूचीकृत भएको प्रमाणपत्र पनि डाक्टर मन्सुरले टाँसेका थिए । महानगरका अधिकारीहरुले डाक्टर मन्सुरको उपचार पद्धती, संस्था दर्ता र डाक्टर स्वयंको विज्ञताबारे जनगुनासो प्राप्त भएको बताए ।
डाक्टर मन्सुरले कार्बाहाइड्रेट कम खान दिने सल्लाहले कतिपय बिरामीको अवस्था झन खराब भएको, महानगरमा संस्था दर्ता पनि नरहेको र डाक्टर स्वयं पोषणविद र हर्मोन रोग विशेषज्ञ नरहेको भन्ने तीन गुनासो महानगरले सुनवाई गरेको महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।
डाक्टर मन्सुरले सुगर प्रेसरदेखि बढी वजन भएकाहरुको उपचार गर्न तीन महिनाको प्याकेजका लागि १० हजार रुपैयाँ लिने गरेका थिए ।
उनले खाने शैलीमा परिवर्तन गरेमा वजन घट्ने र विभिन्न रोगहरु समेत निको हुने दावी गर्थे । उनको दावी र उपचार शैली वैज्ञानिक नभएको दावी गर्दै नेपाल मेडिकल काउन्सिलमा तीन वटा उजुरी परेका छन् । काउन्सिलले विज्ञहरुको प्यानल बनाएर डाक्टर मन्सुरको उपचार विधिबारे अनुसन्धान गर्ने भएको छ ।
यता, काठमाडौं महानगरपालिकाले चाहिँ क्लिनिक हुनका लागि आवश्यक पूर्वाधार समेत नरहेको र सो क्लिनिकबारे एक वर्षदेखि छानविन भइरहेको जनाएको छ । क्लिनिक सञ्चालन गर्नेले बहिरंग सेवा, प्रयोगशाला, जनशक्ति, सेवा दिने विशेषज्ञ, पार्किङ, प्रतिक्षालय जस्ता आधारभूत सुविधा पनि हुनुुपर्छ ।
यी सबै मापदण्ड भए नभएको हेरेर मात्रै लाइसेन्स दिइने महानगरले जनाएको छ । डाक्टर मन्सुरको उपचारले आफ्नो स्वास्थ्य झन बिग्रेको दावी गर्दै न्युज ट्वान्टीफोर ग्यालेक्सीको कार्यालयमा केही दिन अघि विरामीहरु आफ्नो स्वास्थ्य परिक्षणका कागजातसहित आएका थिए ।
उनीहरुले मन्सुरको उपचार विधिका कारण आफुहरु समस्यामा परेको बताएका छन् । हामीसँगको टेलिफोन सम्वादमा मन्सुरले आफ्नो उपचार विधि बैज्ञानिक रहेको र केही विरामीहरुले खानपान शैली ठिक ढंगले नअपनाउँदा अपेक्षित लाभ लिन नसकेको जिकिर गरेका थिए ।
उनले क्लिनिक बैध रहेको पनि दावी गरेका थिए ।




