२५ असार , काठमाडौ । ओखलढुंगामा छोटो दुरीको यात्राका लागि सहज माध्ययम बनेको छ अटो रिक्सा । तर अटो रिक्सा सञ्चालनका लागि आवश्यक कार्यविधि नबन्दा चालकले आफूखुशी भाडा असुल्ने गरेका छन् । जसले गर्दा सहज सुविधा भएर पनि सर्वसाधरण महंगो भाडा तिरेर यात्रा गर्न बाध्य भएका छन् ।
तराईका जिल्लाहरुमा चल्दै आएका अटो रिक्साहरु पछिल्लो पहाडी जिल्लाहरु पनि प्रशस्त्र चल्न थालेका छन् । जसले गर्दा दिनभरी नै क्यूमा चल्ने गाडी पर्खिनुपर्नै बाध्यता हटेको छ । केही वर्षदेखि ओखलढुंगामा पनि अटो रिक्सा सञ्चालनमा आएको छ । छोटो दुरीको यात्रा गर्न निकै सहज सवारी साधन भएकाले सर्वसाधारणमा यसको आर्कषण पनि बढेको छ ।
केही समय अघिसम्म सडकमा फाटफुट देखिने अटोरिक्सा अहिले दर्जनौं सञ्चालनमा छन् । तर सवारी धनीले मनपरी ढंगबाट आफुखुसी भाडा असुल्दा सर्वसाधारण भने मारमा परेका छन । अटोरिक्सा सञ्चालकहरुले यात्रुको अवस्था हेरेर साढे २ किलोमिटर दूरीको भाडा १ हजारसम्म असुल्ने गरेका छन् ।
जिल्लामा केही अटो रिक्सा दर्ता गरेर सञ्चालनमा छन् भने धेरैजसो दर्ता र बिना रुटपरमिट सञ्चालनमा रहेका छन् । अटो रिक्सालाई नियमन र नियन्त्रण गर्न सम्बन्धित निकायले हालसम्म कुनै कार्यविधि बनाउन सकेको छैन भने भाडादर पनि निर्धारण गरेको छैन । जसले गर्दा सञ्चालकले मनपरी ढंगले भाडा असुल्दै आएका छन् ।
पहाडी क्षेत्र भएकाले जिल्लामा अटो रिक्सा सञ्चालन गर्न पनि चुनौती नै छ । चुनौतीका बाबजुत सञ्चालन गरिएको यस्ता सवारी साधनले सर्वसाधारणलाई सेवा दिने भन्दा बढी भाडा असुल्ने गरेका छन । त्यसैले सम्बन्धित निकायले अटो रिक्सा सञ्चालनलाई नियमन गरी निश्चित मापदण्ड बनाएर भाडादर निर्धारण गर्नु आवश्यक छ ।








