८ असार ,काठमाडौ । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

विहिबार वेलुका परेको अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको हो ।

सोही घरका अर्का एक सदस्य १० वर्षीय दिनेश गुरुङ बेपत्ता छन् । उनको खोजी जारी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरी, शशस्त्र प्रहरी र स्थानीयको सहयोगमा घटनास्थलबाट रणबहादुर गुरुङ, उनका छोरी कृतिका गुरुङको शव निकाली सकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिएका छन् ।

पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको छ । सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए ।

प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रमा गएरातिदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालित छन् ।