९ भदौ ,काठमाडौ । नवजात शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्दै आएको आरोपमा कोशी अस्पतालका पूर्वमेसु डा।तपेश्वरलाल कर्णलाई प्रहरीले पक्राउ परेपछि उक्त कार्यमा विराटनगरका अन्य प्रसूति रोग विशेषज्ञ पनि संलग्न भएको प्रहरीले आशंका गरेको छ ।
एमबीबीएस एमडीजीपी गरेका डा। कर्णले आफ्नो निजी दीपेश मेडिकल क्लिनिकसहित प्रसूति गराएका विराटनगरका आधा दर्जन अन्य अस्पतालमा प्रहरीले अनुसन्धान थालेको छ ।
नवजात शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्दै आएको आरोपमा पक्राउ परेका कोशी अस्पतालका पूर्वमेसु डा.तपेश्वरलाल कर्ण । डा.कर्णले पछिल्लो पटक भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित युवक र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा ग्रिनक्रस अस्पतालमा जन्मिएकी शिशुलाई मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएपछि यो धन्दाबारे खुलेको हो । त्यसअघि नै उक्त बच्चा ‘ठेगान’ लगाउने नाममा डा।कर्णले शिशुका पिताबाट ३५ हजार रुपैयाँ लिएका थिए । प्रहरीले शिशु अविवाहित आमालाई जिम्मा लगाउने तयारी गरेको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार शिशु बेच्ने चिकित्सक कर्णसहित कारोबारमा खरिद गर्ने राजवंशी परिवार र त्यसमा संलग्न ६ जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । डा। कर्णसँग आफूहरूले पाँच लाखमा बच्चा खरिद गरेको खरिदकर्ता दम्पतीले स्विकारे पनि कर्णले यसबारे मुख नखोलेको डीएसपी दाहालले बताए । ‘यो प्रकरणको वास्तविकता बिस्तारै खुल्छ,’ उनले भने, ‘किन्ने र डाक्टरका सहयोगीले स्विकारेका छन् । यो नै ठोस प्रमाण हो र यसकै आधारमा प्रहरीले अरूमाथि अनुसन्धान सुरु गरेको छ ।’
डा. कर्णले पाँच लाखमा शिशु बिक्री गरेको पुष्टि
डा।कर्णले यहाँका सुरक्षा, अवधनारायण, म्याक्स, ग्रिनक्रस, सप्तकोशी र सिटीलगायतका निजी अस्पतालमा अविवाहित प्रेमजोडी र विवाहेत्तर सम्बन्धबाट गर्भवती भएकालाई सुत्केरी गराएर जन्मिएका नवजात शिशुलाई कम्तीमा २ लाखदेखि १० लाख रुपैयाँसम्ममा बेच्दै आएको स्रोतको दाबी छ । यहाँका निजी अस्पतालमा प्रसूति रोग विशेषज्ञ भए पनि उनीहरूले विषयगत क्षेत्रमा अब्बल मानिएका डा।कर्णलाई नै गर्भपतन, गर्भवतीको शल्यक्रिया र सुत्केरी गर्न बोलाउँथे । पछिल्लो समय भएको शिशु खरिदबिक्रीका घटनाले विराटनगर आसपासका निजी अस्पताल र महिला रोग विशेषज्ञ चिकित्सक पनि अनुसन्धानको घेरामा परेको डीएसपी दाहालले बताए ।
यहाँको सुरक्षा अस्पतालकी सञ्चालक डा. रम्भा देव र सप्तकोशी अस्पतालका सञ्चालक डा। योगेन्द्र मिश्रले आफ्नो अस्पतालमा पाठेघरको मेजर अपरेसन गर्नुपर्दा डा।कर्णलाई सहयोगका लागि बोलाउने गरेको स्विकारेका छन् । तर उनीहरूले नवजात शिशु बिक्री गर्ने कर्णको कार्यमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे । ‘डा।कर्ण त्यस्ता कुनै पनि केस लिएर हाम्रा अस्पताल आएका छैनन्, अन्तै लगेर गर्थे होला,’ देव र मिश्रको एकैस्वर छ, ‘हामीले मेजर अपरेसनमा कर्णको सहयोग पटक पटक लिएका हौं तर उनको शिशु बिक्री गर्ने प्रकरणमा हाम्रो लेनादेना छैन ।’
२०५२ मा कोशी अस्पताल आएपछि झन्डै अढाई दशक स्त्रीरोग विभागमा काम गरेर सेवा निवृत्त भएका डा।कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म उक्त अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टसमेत थिए । कोशीमा कार्यरत रहँदा २०६३–०६४ सालमा अस्पतालबाट तीन नवजात शिशु हराउँदा अस्पतालमा ठूलो हंगामा भएको थियो । ती शिशु पनि डा।कर्णकै सक्रियतामा निःसन्तान दम्पतीसमक्ष पुगेको शंका गरिएको थियो । निजी क्लिनिकसमेत खोलेर बिरामी जाँच्न थालेपछि उनको आर्थिकस्तर वृद्धि भएको उनी निकटको भनाइ छ । त्यसको केही समयपछि उनले हाल आफ्नो दीपेश मेडिकल क्लिनिक रहेको १७ धुर जग्गासहितको घर किने । सुरक्षा अस्पतालकी सञ्चालक प्रसूति रोग विशेषज्ञ डा। रम्भा देवले पनि कर्णकै छेउमा क्लिनिक खोलिन् । एक स्वास्थ्यकर्मीले भने, ‘त्यसपछि दुवै जना मिलेर साझेदारीमा जस्तै काम गर्न थालेका हुन् । आर्थिक अवस्था ह्वात्तै उकालो लाग्न थालेको हो ।’
डा।कर्णको धन्दा कृत्रिम गर्भधारण ९आईभीएफ० सुरु भएपछि झन् बढेको स्वास्थ्यकर्मीहरूको दाबी छ । कृत्रिम गर्भधारण प्रक्रिया महँगो हुने भएकाले निःसन्तान दम्पतीले विवाहेत्तर सम्बन्धबाट जन्मिएका शिशु खोज्न थालेको स्वास्थ्यकर्मीको भनाइ छ । ‘परिचालित गिरोहका सदस्यले हरेक गाउँ र बस्तीमा निःसन्तान दम्पतीको खोजी गरेर डा।कर्णलगायतको चिकित्सक समूहसँग सम्पर्क गराउँथ्यो,’ कोशीका एक चिकित्सकले भने, ‘कर्णको क्लिनिकमा ती सम्बन्धबाट शिशु जन्मिनेबित्तिकै त्यस्ता दम्पतीलाई बोलाएर बेचिन्थ्यो ।’
डा. कर्ण एक दशकदेखि शिशु बेचबिखनमा संलग्न
स्रोतका अनुसार डा।कर्णले विराटनगरमा घर, भवन, जग्गा जोडेका छन् भने काठमाडौंको बूढानीलकण्ठमा पनि घर बनाएका छन् । भारत दिल्लीको गुडगाउँमा पनि उनको घर रहेको स्रोतको भनाइ छ । उनका एक छोरा र दुई छोरी छन् । डीएसपी दाहालले कर्णको सम्पत्ति छानबिनको प्रक्रिया पनि अगाडि बढाइने बताए । उनको अस्वाभाविक सम्पत्तिबारे प्रहरीले सम्पत्ति शुद्धीकरण विभागलाई जानकारी गराएको छ भने भूमिसुधार तथा मालपोत कार्यालय एवं राष्ट्र बैंकसँग पनि समन्वय गरिरहेको छ ।
भोजपुरका ती युवकले आठ महिनाकी गर्भवती प्रेमिकालाई असार १३ मा डा।कर्णको क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि ल्याएपछि कर्णले गर्भ परीक्षणपछि शिशुको व्यवस्थापन गर्ने भन्दै ३५ हजार रुपैयाँ लिएर नजिकको ग्रिनक्रस अस्पतालमा त्यसै दिन भर्ना गराएर व्यथा लाग्ने औषधि सुरु गराएका थिए । असार १४ मा सामान्य अवस्थामा सवा दुई किलोको शिशु जन्मियो । तर अस्वस्थ र कमजोर देखाउन शिशुको तौल ९ सय ५० ग्राम मात्र उल्लेख गरियो । कर्णले असार १४ मा शिशुलाई राजवंशी दम्पतीलाई ५ लाखमा बिक्री गरेर ती युवतीलाई अस्पतालबाट बच्चाबिनै डिस्चार्ज दिए ।
अविवाहित जोडीबाट जन्मिएको शिशु अस्पतालबाटै गायब, चिकित्सक र युवक पक्राउ
बिहे गर्ने प्रलोभन देखाएका युवकले सुत्केरी अवस्थामा आफूलाई छाडेर हिँडेको र डाक्टरसँगको मिलेमतोमा बच्चासमेत गायब बनाएको भन्दै ती युवतीले साउन ३२ मा मोरङ प्रहरीसमक्ष किटानी उजुरी दिइन् । त्यसपछि घटना बाहिर आएको हो । ‘आमाले शिशुको खोजी नगरेको भए यो गिरोहको पोल कहिल्यै खुल्दैनथ्यो,’ मोरङ प्रहरीका प्रमुख दीपक पोख्रेलले भने । युवालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने शिशु बेच्नमा सघाउने क्लिनिककी निर्मला यादव र ग्रिनक्रस अस्पतालकी शल्यक्रिया युनिटकी नर्स सुधा राजवंशी पनि पक्राउ परेका छन् ।



