
१२ मंसिर , काठमाडौ । नेकपा एमालेको जारी १०औं महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरिरहँदा नेता भीम रावल भने एक्लै भए पनि अध्यक्षको उम्मेदवारी दिने अडान राख्दैआएका छन् ।

आइतबार बन्दसत्र सुरु हुनुअघि नै उनका समर्थक प्रतिनिधिहरूले भीम रावलको पक्षमा भोट अपिल गर्दै पर्चासमेत बाँड्न सुरु गरेका छन् । जवकि निर्वाचन आचार संहिता अनुसार २ बाइ ४ इन्चको भिजिटिङ कार्ड बाहेक अन्य कुनै पर्चा बाँड्न र छुट्टै भेला गर्न नपाइने लगायत व्यवस्था गरिएको छ ।

नेता रावलले भने शनिबारदेखि नै अध्यक्ष पदका लागि आफ्नो पक्षमा भोट अपिल गर्दैआएका छन् । आइतबार बिहान महाधिवेशन स्थलमा बन्दसत्र सुरु नहुँदै केही प्रतिनिधिहरूले रावलको प्रचारात्मक सामग्री बितरण गर्दै भोट मागिरहेका छन् । ओली पक्षका नेताहरू भने सर्वसम्मत नेतृत्व चयनका लागि छलफलमै छन् ।
ओली निकट नेताहरूले सर्वसम्मत रुपमा नै नेतृत्व चयन गरिने बताउँदैआएका छन् । यद्यपि ओली समूहभित्र शीर्ष नेताहरूबीच वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा आकांक्षा धेरै हुँदा कुरा नमिलेपछि बन्दसत्र सुरु हुन सकेको छैन । यतिबेला ओली बस्ने होटलमा केन्द्रीय सदस्य तथा पदाधिकारीका आकांक्षीहरूको भीड नै लागेको छ ।
आइतबार बिहान ११ बजे बन्दसत्र सुरु हुने भनिए पनि केही समयका लागि धकेलिएको छ ।








