काठमाडौं । माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
२२ कात्तिकमा बानेश्वरमा जनक बर्तौलामाथि खुकुरी प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको हो । उनीहरूले तीन महिनाअघिदेखि नै बर्तौलामाथि खुकुरी प्रहार गर्ने योजना बनाएको खुलेको काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेचीनगर नगरपालिका वडा नम्बर ८ मेचेका ३४ वर्षीय कैलास भन्ने टेकबहादुर प्रधान र कोहलपुर नगरपालिका वडा नम्बर १ कौशीला बस्ने २६ वर्षीय आशिष लामिछाने मगर रहेका छन् ।
माओवादीको बाग्मती प्रदेश सदस्य एवं अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष बर्तौलामाथि २२ कात्तिकमा बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार भएको थियो ।
आक्रमणपछि दुबै जना भागेका थिए। शेरबहादुरले करिब पाँच सय मिटर पश्चिम भागेर एक घरभित्रको कम्पाउण्डभित्र पसेर कपडा फेरेका थिए। ती कपडा, हतियारहरू त्यहीँ फालेर उनी फरार भएका थिए।
एसपी कुमोध ढुंगेलका अनुसार बर्तौलामाथि आक्रमण गरेपछि उनीहरु एउटा घरमा पुगेर कपडा फेरेर नयाँ बसपार्क पुगेका थिए, जहाँबाट झापा हुँदै हुँदै इलाम पुग्ने व्यवस्था टेकबहादुरले मिलाएको अनुसन्धानबाट खुलेको छ ।
आक्रमणको योजना काठमाडौंको एक होटलमा बनाएको र यसबारे तीन जना नै जानकार रहेको प्रहरीको दाबी छ । पक्राउ परेका तीनै जना यसअघि पनि चोरी, डाँका, हातहतियार र ज्यानसम्बन्धी उद्योग जस्ता मुद्दामा सजाय काटेका व्यक्ति हुन् ।
प्रहरीका अनुसार जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको छ ।



