
१३ मंसिर ,काठमाडौ । काठमाडौंका एसएसपी अशोक सिंहको काज सरुवा गर्ने निर्णय कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको छ । प्रहरी मुख्यालयले सिंहलाई हटाएर उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी सुदीप गिरीलाई ल्याउने निर्णय गरेको विश्वस्त स्रोतमार्फत न्युज24ग्यालेक्सीलाई जानकारी प्राप्त भएको थियो ।

प्रहरी प्रधान कार्यालयले गोप्य राखेको यो विषय बाहिर आए पनि कार्यान्वयन गर्नबाट भने हच्किएको छ । आफ्नो एक वर्षे कार्यकालको अन्त्यतिर रहेका एसएसपी सिंहलाई यसअघि पनि हठात् काज सरुवा गर्ने असफल प्रयास भएको थियो । सिंह काठमाडौंमा शान्ति सुरक्षा कायम गर्न राम्रो छवि बनाएका प्रहरी अधिकारी अधिकारी हुन् ।

प्रहरी प्रधान कार्यालयले सोमबार अन्य ५ एसएसपीको सरुवा र सात जनाको पदस्थापन गरेको छ । यस्तै, हालै बढुवा भएका सात जना एसपीको पनि पदस्थापन गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं राष्ट्रिय सुरक्षा, सुरक्षा संवेदनशीलता र आकर्षक पोष्टिङ सहितको अति महत्वपूर्ण सुरक्षा इकाइ हो । प्रधानमन्त्री र गृहमन्त्रीमात्र होइन, राजनीतिक नेतृत्व र उसले प्रतिनिधित्व गर्ने दलले शान, मान र प्रतिष्ठासँग जोडिने एउटा प्रहरी इकाइमा हुने नेतृत्व परिवर्तनको महत्व नबुुझ्दा यतिबेला गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नै आलोचनाको केन्द्रमा परेका छन् ।
यसअघि गृहमन्त्री खाणले गरेको सिंहलाई काज सरुवा गर्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको असन्तुष्टिपछि उल्टिएको थियो । त्यतिबेला पनि सिंहको स्थानमा भने गिरीलाई खटाउने तयारी गरिएको थियो ।
प्रहरीमा सामान्यतया कुनै स्थानमा पोस्टिङ भएको १ वर्ष पूरा गरी मात्र सरुवा गरिन्छ । एसएसपी सिंहको यही मंसिरमा कार्यकाल सकिँदै छ ।



