Comments Add Comment

राजु मास्टरको बयान : राम्रो पैसा आउँछ भनेपछि विज्ञापन गरेको थिएँ

२५ असार , काठमाडौ । युट्यूब च्यानलमार्फत सट्टेबाजी गराउने वेवसाइट वान एक्स बेटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकार राजु मास्टर भनेर चिनिने राजु पौडेलले आफूलाई मासिक रुपमा राम्रो शुल्क आउँछ भनेपछि विज्ञापन गरेको बताएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका अधिकारीहरुको रोहबरमा प्रहरीले लिएको बयानमा राजु मास्टरले ढेँडु बुढा भनेर चिनिएका सरोज घिमिरेले आफूलाई विज्ञापन राख्ने प्रस्ताव गरेको बताएका छन् ।

घिमिरेले मलाई तपाईंको युट्यूब च्यानलमा एउटा विज्ञापन बजाउनुपर्‍यो, त्यसवापत महिनाको १५ देखि ४० हजार रुपैयाँसम्म कमाइ हुन्छ भनेकाले मैले हुन्छ भनेको थिएँ’, पौडेलले भनेका छन्, ‘त्यसपछि उनले मलाई २० सेकेन्डको भिडियो पठाइदिएकाले मैले उक्त भिडियोलाई युट्युब च्यानलमा राखेको थिएँ ।’

भिडियो कसले हेरे आफूलाई थाहा नभएको भन्दै उनले आफूले हालसम्म कसैलाई अवैध सट्टेबाजी नखेलाएको र आफूले पनि नखेलेको बताएका छन् । पछि घिमिरेले पठाएको भिडियोलाई आफू समेतले तयार गरेर ‘हल्का रमाइलो’ र ‘जुठे’ नामक टेलिसिरियलको भिडियोको बीचमा बज्ने गरी विज्ञापनको भिडियो अपलोड गरेको उनले बताएका छन् ।

अवैध सट्टेबाजीसम्बन्धी वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका राजु मास्टरसहित ११ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । त्यसक्रममा पेश अभियोग पत्रमा राजु मास्टरले आफूले त्यसविज्ञापन वापत करिब ५५ हजार रुपैयाँ जति लाभ लिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment