काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम आज सम्पन्न भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा १४९ औँ समूहको ट्राफिक नियन्त्रण तालिम गत असोज ६ गतेदेखि सञ्चालित भएकोमा आज समापन भएको हो । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, वचनका साथसाथै कार्यसम्पादन गर्ने तरिकामा समेत अझ उत्कृष्ट बनाउनुपर्ने कुरा उल्लेख गर्नुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने क्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले सो तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान ३७ जना गरी ५० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा तालुक कार्यालयका प्रतिनिधी र कार्यालयका सिनियर प्रहरी अधिकृत एवं जुनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।



