काठमाडौँ । भक्तपुरको दिव्यश्वरी टाउन प्लानिङस्थित उप–सचिवको घर । मध्यपुर थिमि नगरपालिका–२ स्थित उप–सचिवको घरमा कार्तिक २४ मा चोरी भएको हो । सुन, हिराको गहना र मोबाइलसहित ३७ लाख २७ हजार चोरी भएको थियो ।
उप–सचिवको घरमा चोरी गर्नेलाई खोज्न उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुभवी अनुसन्धान अधिकृतहरू खटिए । १ महिनाको अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरेको छ । चोरीमा संलग्न आरोपी हुन्, काभ्रेको तेमाल गाउँपालिका–७ घर भएका विक्रम नेपाली । २० वर्षका विक्रम चोरेको आरोपमा दोस्रो पटक प्रहरीको हिरासतमा छन् ।
उप–सचिवको घरको ढोका फुटाएर उनले दिउँसै चोरी गरेका हुन् । दिव्यश्वरीमा चोर्न उनी काभ्रेको तेमालबाट काठमाडौँ आएको अनुसन्धानमा संलग्न अधिकृतले रातोपाटीलाई बताए ।
चोरेपछि उनी घर गए । जङ्गलको बिचमा रहेको उनको घरमा लगेर विक्रमले चोरेको हिरा र सुनका गहना राखेका थिए । उनको घरबाट चोरेको हिरा र सुन बरामद गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जानकारी दिए । दिव्यश्वरीबाट विक्रमले सुन र हिराबाहेक करिब ७० हजार नगद चोरेको पीडितले प्रहरीलाई बताएका छन् ।




