लागुऔषधको कारोबारी खैरो हेरोइनसहित कपिलवस्तुको चाकरचौडा नाका हुँदै कपिलवस्तु नगरपालिका ९ जगदीशपुर आउँदै छ भन्ने प्रहरीलाई सुराकी आयो। त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराका पाँचजना प्रहरी पचेहरामा कारोबारीलाई पक्राउ गर्न कुरिबसे।
पकडीबाट लु.२५ प २७०६ नम्बरको मोटरसाइकलमा सवार भई आइरहेका कपिलवस्तु नगरपालिका ११ बर्सेउलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ आठ ग्राम आठ सय ९० मिलिग्रामसहित सोही नगरपालिका ९ बुद्धचोक बस्ने युवराज थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
मोटरसाइकलको टुल बक्समा दुईवटा प्लास्टिक थैलीमा लुकाइराखेको अवस्थामा खैरो हरेरोइन बरामद गरिएको थियो।
लागुऔषधको जालो तोड्न पिपरा प्रहरी चलाएको विशेष अभिायनपछि कारोबारी धमाधम पक्राउ परी रहेका छन्। साढे तीन महिनाअघि इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक गोपाल रायमाझी आएपछि बाणगंगामा लागुऔषधविरुद्ध विशेष अभियान चलाएका थिए।
जनगुनासो बढेपछि आफूले लागुऔषधविरुद्ध विशेष अभियान चलाएको प्रहरी निरीक्षक रायमाझीले बताए।
बाणगंगा नगरपालिकामा जिल्लामै सबैभन्दा बढी लागुऔषध कारोबार र दुव्र्यसनी रहेको नगरवासीको भनाइ छ। इप्राका पिपराले लागुऔषध दुव्र्यसनी र कारोबारी बढेपछि चलाएको विशेष अभियानमा साढे तीन महिनामा १५ मुद्दामा ३० जना पक्राउ परेको प्रहरी निरीक्षक रायमाझीले बताए। सो अवधिमा २९ ग्राम ३८० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ।



