काठमाडौँ । वैदेशिक रोजगारीका लागी अजरबैजान पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ घर भएका हरि कुमार दाहाल छन् ।
५१ वर्षका दाहाललाई बुढानिलकण्ठबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । पीडित खेम बहादुर डाँगीलाई अजरबैजान पठाउँछु भनेर आरोपीले ६ लाख ७७ हजार रकम लिएपछि सम्पर्क विहीन भएको आरोप छ ।
अजरबैजान जान ६ लाख ५० हजार लाग्ने र त्यहाँ ७५ हजार तलब आउने जागिर मिलाइदिन्छु भनेर उनले पीडितलाई प्रभावमा पारेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको एसपी रेग्मीले जानकारी दिए ।





