काठमाडौं: मकवानपुर प्रहरीले आइतबार फरक–फरक घटनामा लागुऔषध चरेस र गाँजासहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले मकवानपुरको मनहरीमा चेकजाँचको क्रममा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना. ३ च ७४०४ नम्बरको कारमा लुकाई ल्याइँदै गरेको एक सय ग्राम चरेससहित चारजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कारचालक बाराको जितपुर–सिमरा उपमहानगरपालिका– ६ का २१ वर्षीय याकुब खान, बारा परवानीपुर गाउँपालिका– ३ का २० वर्षीय मुस्की राम, पर्सा वीरगन्ज उपमहानगरपालिका– २१ का २० वर्षीय इरमान आलम र २१ वर्षीय सोयल मियाँ छन्।
पक्राउ परेकाहरूले दिएको सूचनाका आधारमा प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका– ६ नयाँबस्ती बस्ने रामनारायण श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूले उक्त चरेस निज श्रेष्ठबाट खरिद गरेको बताएपछि प्रहरीले श्रेष्ठको घर खानतलासी गर्दा ६ किलो १३५ ग्राम लागुऔषध चरेस फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।




