२२ साउन , काठमाडौं । पछिल्लो दिन परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरो पीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।
उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा पर्याप्त जनशक्ति खटाइ पीडितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गरे ।
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा परेको भन्दै नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सरकारको ध्यानाकर्षण गराए । उनले आफ्नो जिल्लामा गएको बाढीपहिरोबारे जानकारी दिँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यस्तै, ध्यानाकर्षण गराउने सांसदहरूमा लक्ष्मी परियार, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, विनाकुमारी बुढाथोकी, विद्या भट्टराईलगायत छन् । वर्षासँगै थुप्रिएका फोहोरले जनस्वास्थ्यमा असर गर्ने भन्दै विनाकुमारी श्रेष्ठ, विष्णु शर्मासहितका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।







