झापा । झापामा विवाहको प्रस्ताव अस्वीकार गरेपछि एक महिलाको हत्या भएको खुलेको छ ।
बिर्तामोड नगरपालिका-८ स्थित गरामनी स्थायी घर भई हालः बिर्तामोड-५ मा डेरा गरी बस्दै आएका ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईँले माया पुलामी मगरको ढुंगा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीकाले बताए ।

उनलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । उनले विवाहको प्रस्ताव अस्वीकार गरेपछि अर्जुनधारा नगरपालिका-६ बस्ने ५० वर्षीया मगरको ढुंगा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
प्रसाईँले मायालाई आफ्नै निर्माणाधीन घरको दोस्रो तलामा लगी एकपटक शारीरिक सम्बन्ध राखेको पनि खुलेको छ । त्यसको भोलिपल्ट माघ ७ गते मायासँग राति भेट्ने सल्लाह भएको थियो । सोही दिन साँझ प्रसाईँले मायालाई विवाह गर्ने प्रस्ताव राखे ।
घटनाको अनुसंधानका लागि प्रहरीले तालिम प्राप्त कुकुर तथा प्रहरीका हरेक सुचना संयन्त्र प्रयोग गरेको जनाएको छ । अभियुक्तमाथि ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सुरज कार्कीका अनुसार अभियुक्त प्रसाईं बिर्तामोडमा ज्याला मजदुरी गर्ने काम गर्दै आएका थिए ।
प्रसाईं र मगरबीच केही समय यता शारीरिक सम्बन्ध हुँदै आएको पाईएको कार्कीले बताए । शारीरिक सम्बन्धपछि प्रसाईले बिवाह गरौ भनेर प्रस्ताव राख्दा मगरले अस्विकार गरेपछि बिवाद उत्पन्न भएको उनले बताए । बिवादका क्रममा मगरले प्रसाईको आँखा घोचिदिएको र रिसको आवेशमा प्रसाईंले नजिकैबाट ढुङ्गा टिपेर हान्दा मगरको घटनास्थलमै निधन भएको अभियुक्तले बयान दिएको कार्कीले जानकारी दिए ।
मायाले त्यसलाई अस्वीकार गर्दै प्रसाईँको दाहिने आँखामा हातले हिर्काइन्। आँखामा चोट लागेपछि प्रसाईँले मार्ने नियत राखी सडकमा रहेको ढुंगा टिपी मायाको टाउकोमा पटक-पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
घटना भएको पाँच दिनपछि विशेष सूचनाको आधारमा प्रसाईँलाई शनिबार बिर्तामोडबाटै प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।


