काठमाडौं । कालीमाटीस्थित खाद्य स्टोरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फाँटबारीका २२ वर्षका लोक सिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–१४ कालीमाटीस्थित अमन खाद्य स्टोरको सटरको ताल्चा फुटाएर २७ माघमा चोरी भएको थियो । भोलिपल्ट बारा गढीमाइ नगरपालिका- २ घर भई कालीमाटी बस्ने ४७ वर्षका मनोजकुमार गुप्ताले आफ्नो स्टोर खोलेर हेर्दा २० लाख रुपैयाँ नगद चोरी भएको थाहा पाएका थिए ।

स्टोरको सीसीटीभी क्यामेरामा चोरीमा संलग्न व्यक्ति कैद भएका थिए, जसको सहयोगमा प्रहरी चोर कहाँ पुग्यो ।
ती चोर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फाँटबारीका २२ वर्षका लोक सिंह ठगुन्ना हुन् । प्रहरीका अनुसार चोरी गरेपछि ठगुन्ना राइड सेयरिङको मोटरसाइकल चढेर ठमेलको डान्सबार पुगेका थिए ।
भोपिल्ट साँझ बस चढेर कैलालीको अत्तरिया पुगेको अनुसन्धानबाट खुलेको छ । खोज्दै जाँदा उनलाई प्रहरीले गोदावरी नगरपालिका – २ पहाड लाइनको न्यू सत्कार होटलमा लुकेर बसेको अवस्थामा फेला पार्यो ।
कैलाली पुगेर पनि उनले चारेको पैसाले रमाईलो गरेको खुलेको छ । बाबुआमाको निधन भएपछि रोजगारी नहुँदा आफू चोर्न हिँडेको प्रहरीसमक्ष ठगुन्नाले बयान दिएका छन् ।
उनको साथबाट १३ लाख ९६ हजार ५६५ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार बाँकी रकम भने उनले डान्सबार, डेटिङ, इलेक्ट्रोनिक ग्याजेट खरिदमा खर्च गरेको पाइएको छ ।
ठगुन्नालाई काठमाडौं ल्याएर बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । अदालतबाट म्याद लिएर चोरी मुद्दामा उनीविरुद्ध अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


