Comments Add Comment

Advertisment

SKIP THIS

विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका सन्दीपले भने – क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु

२६ जेठ , काठमाडौ । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको बताएका छन् ।

आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि वेस्ट इन्डिज पुगेका लामिछानेले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन,’ उनले भनेका छन्, ‘तर ती सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’

उनले थप लेखेका छन्, ‘मेरो सहयात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

यस्तै उनले आफ्नो भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न पनि आग्रह गरेका छन् । क्यानका अनुसार सन्दीप वेस्ट इन्डिज पुगेर नेपाली टोलीमा समावेश हुनेछन् ।

यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो।

नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल हारेको नेपालले श्रीलंकासँग आगामी बुधबार विहान खेलेपछि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग जुन १४ र बंगलादेशसँग जुन १६ मा खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै