
२० मंसिर , काठमाडौ । राष्ट्र बैंकको निर्देशन बमोजिम एकै बैंकबाट ४ करोड र समग्र बैंक तथा वित्तीय प्रणालीबाट १२ करोडभन्दा बढि ऋण लिएका सेयरकर्जा नविकरण हुन छाडेपछि त्यसको सिधा असर सेयरबजारमा परेको छ ।

बैंकको ऋण तिर्न ठूला लगानीकर्ताले सेयर बेच्न थालेका छन् भने साना लगानीकर्तालाई बजार घट्ने त्रासका कारण आइतबार मात्रै पनि सेयर बजार ७२ दशमलव तीन दुई अंकले घटेको छ ।

गत भदौमा झडै ३२ सयमा पुगेको सेयरबजार राष्ट्र बैंकको निर्देशन र बजारमा तरलता अभावका कारण अहिले २५ सय १३ अंकमा आइपुगेको छ । महामारी केहि नियन्त्रणमा आएपछि आर्थिक गतिबिधी बढेका छन् । जसका कारण बैंकमा अहिले कर्जाको माग उच्च छ । कर्जा प्रदान गरेबमोजिम निक्षेप संकलन नहुँदा बैंकहरुमा तरलता अभाव भएको हो । यो सँगै राष्ट्र बैंकले कर्जा पुँजी निक्षेप अनुपात हटाएर बैंकहरुले कर्जा निक्षेप अनुपात अर्थात सिडि रेसियो लागू गरेसँगैपनि बजारमा लगानीयोग्य रकमको अभाव भएको हो ।
हुनत ४५ लाख सेयरलगानीकर्ता मध्ये २ सय जना सेयरलगानीकर्ता मात्रै १२ करोड भन्दा ऋण लिने लगानीकर्ता छन् । तर, उनिहरुले सेयर खरिदका लागि लिएको ऋण तिर्न सेयरबेच्दै गर्दा यसले बजारमा ठूलो असर पार्न थालेको छ ।
आइतबार सेयरबजारमा सबैपरिसुचक घटेका छन् । जसमा जिवन बिमाको परिसुचक सबैभन्दा बढि अर्थात ३ सय ७२ अंकले घटेको छ । त्यस्तै क बर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स १४ दशमलव एक सात अंकले घटेको छ । बजारमा २ सय २६ कम्पनीको ८९ लाख २० हजार कित्ता किनबेच हुँदा ४ अर्ब ९ करोडको कारोबार भएको छ ।





