तारकेश्वर नगरपालिका वडा नं. ३ को आर्थिक सहयोग तथा ब्लिसेफुल ब्युटी जोनको सहकार्यमा आयोजना गरिएको ३० दिने व्युटिसियन प्रशिक्षण कार्यक्रमको आज जितपुर फेदीमा भव्य उद्घाटन समारोह सम्पन्न भएको छ।
यस अवसरमा वडा अध्यक्ष पशुराम अर्याल प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए।
उद्घाटन कार्यक्रममा विशेष अतिथिको रूपमा सिटिइभिटी ब्युटीस्कील टेस्टका एसोसिएट सौन्दर्यविद अनिता पौडेल, स्किन स्पेशियालिस्ट पेशेवर व्युटिसियन लक्ष्मी तिमिल्सिना, अतिथि व्युटिसियन कला पाण्डे, पत्रकारहरू र प्रशिक्षणार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको शुभारम्भमा वडा अध्यक्ष अर्यालले यस प्रशिक्षणले महिलाहरूलाई आत्मनिर्भर बन्न र रोजगारीको अवसर सृजना गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले सहभागीहरूलाई प्रशिक्षणको पूर्ण लाभ उठाउन आह्वान गर्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि आयोजना गर्ने आश्वासन दिए।
विशेष अतिथि अनिता पौडेलले सौन्दर्य क्षेत्रमा पेशेवर प्रशिक्षणको आवश्यकता र यसको रोजगारी सम्भावनाको बारेमा जानकारी दिइन्। उनले प्रशिक्षणार्थीहरूलाई दक्षता र मेहनतसाथ सिक्न आग्रह गरिन्। त्यस्तै, स्किन स्पेशियालिस्ट लक्ष्मी तिमिल्सिनाले छाला सम्बन्धी ज्ञान र व्यावहारिक प्रशिक्षणको महत्त्व राखिन्।
यो ३० दिने प्रशिक्षणमा बेसिक ब्युटी थेरेपी, हेयर केयर, स्किन केयर, मेकअप, नेल आर्ट लगायत विभिन्न विधाहरू सिकाइनेछ। प्रशिक्षण पूरा गर्ने प्रतिभागीहरूलाई प्रमाणपत्र वितरण गरिने छ।
कार्यक्रमको अन्त्यमा आयोजक समितिले सहभागीहरू, अतिथिहरू र सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेको छ।





