काठमाडौं । तारकेश्वर–३ किसान्डोलस्थित जितपुर माध्यमिक विद्यालयले आफ्नो ६२औँ वार्षिक उत्सव तथा २२औँ अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।
सोमबार आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, नाटक लगायत विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए।
कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता तथा आत्मविश्वास झल्किने विभिन्न प्रस्तुतिहरू देख्न पाइयो।
कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी, शिक्षा शाखा प्रमुख, तारकेश्वर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, अभिभावक, शिक्षक, शिक्षिकाहरु, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णहरि महर्जनले तारकेश्वर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको विकास र समृद्धिका लागि नगरपालिका निरन्तर लागिपर्ने बताउनुभयो।
उहाँले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पछिल्ला वर्षहरूमा तारकेश्वरका सामुदायिक विद्यालयहरूको शैक्षिक नतिजामा उल्लेखनीय सुधार आएको र निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार तारकेश्वर नगरपालिका खेलकुद क्षेत्रमा पनि जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएको छ।
कार्यक्रमका अवसरमा विद्यालयले वर्षभरि अध्ययन, खेलकुद, अनुशासन तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो।
विद्यालयका अनुसार विद्यार्थीहरूलाई समयमै प्रोत्साहन र सम्मान गर्न सकेमा उनीहरूको मनोबल अझ उच्च हुने, पढाइप्रति थप प्रेरणा मिल्ने तथा भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न उत्साहित हुने विश्वास व्यक्त गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरूले विद्यालयको शैक्षिक उपलब्धि, आगामी योजना तथा विद्यार्थीको उज्ज्वल भविष्यका लागि अभिभावकको सहयोग आवश्यक रहेको बताएका थिए।
विद्यालयका प्रधानाध्यापक हरिकृष्ण अर्यालले विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गत सिभिल इन्जिनियरिङ विषय पनि अध्यापन गराइँदै आएको जानकारी दिँदै आगामी दिनमा शैक्षिक गुणस्तर अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।






