Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर–९ को मनमैजु मा.वि.को ऐतिहासिक सफलता: BEE परीक्षामा शतप्रतिशत नतिजा

काठमाडौँ — तारकेश्वर नगरपालिका वडा नं. ९ मा अवस्थित मनमैजु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को आधारभूत तह (BEE) परीक्षामा शतप्रतिशत (१००%) नतिजा हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ।

महँगा शुल्क लिएर अध्यापन गराउने संस्थागत विद्यालयहरूसँग प्रतिस्पर्धा गर्दै सामुदायिक विद्यालयले यस्तो उत्कृष्ट उपलब्धि हासिल गर्नु विशेष मानिएको छ।

यस वर्ष विद्यालयबाट ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ८ जना विद्यार्थीले ३.६१ देखि ३.७७ GPA प्राप्त गर्दै ‘A+’ ग्रेड हासिल गरेका छन्। त्यसैगरी ३३ जना विद्यार्थीले ३.२ देखि ३.६० GPA ल्याएर ‘A’ ग्रेड प्राप्त गरेका छन् भने ११ जना विद्यार्थीले २.९८ देखि ३.२ GPA ल्याएका छन्।

विद्यालयकी प्रधानाध्यापक रविना महर्जनको नेतृत्वमा मनमैजु मा.वि.ले पछिल्ला वर्षहरूमा निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ। BEE मात्र नभई SEE र कक्षा १२ को नतिजा पनि सन्तोषजनक रहँदै आएको विद्यालय स्रोतले जनाएको छ।

उत्कृष्ट शैक्षिक वातावरण र व्यवस्थापनका कारण विद्यालयमा विद्यार्थी संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ।
सामान्यतया सामुदायिक विद्यालयहरूमा आर्थिक रूपमा कमजोर तथा श्रमिक वर्गका अभिभावकका बालबालिकाको बाहुल्यता रहने गर्दछ।

तर मनमैजु मा.वि.ले गुणस्तरीय शिक्षा प्रदान गर्दै उक्त धारणा परिवर्तन गर्न सफल भएको देखिन्छ।

यद्यपि, विडम्बना के छ भने, विद्यालयले यति उत्कृष्ट नतिजा दिइरहँदा पनि त्यहीँ अध्यापन गराउने शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा भर्ना गराउन सकेका छैनन्।

तारकेश्वर क्षेत्रमा जनप्रतिनिधि तथा कर्मचारीहरूले समेत आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने चलन अझै विकास हुन सकेको छैन।

यस सफलताले सामुदायिक विद्यालयप्रति विश्वास बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै