काठमाडौं — शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एक महिलाको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ।
जंगलमा भेटिएको उक्त शव तारकेश्वर नगरपालिका–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारीकै भएको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार तिवारी वैशाख ११ गते घरबाट बजार जाने भन्दै निस्केकी थिइन्।
बेलुकासम्म घर नफर्केपछि परिवारले भोलिपल्ट प्रहरीमा जानकारी गराएको थियो, त्यसपछि खोजी अभियान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा तिवारीसँग एक व्यक्तिको सम्पर्क देखिएपछि प्रहरीले टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक सोधपुछका क्रममा उनले नै हत्या गरी शव जंगलमा गाडेको स्वीकार गरेको प्रहरीको भनाइ छ।
प्रहरी टोलीले डंगोललाई साथमा लिएर घटनास्थल पुगेपछि सड्न थालेको अवस्थामा शव फेला परेको हो। शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



