काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ७ मनमैजुस्थित Rosemary Idol Boarding School मा आगलागी नियन्त्रण तथा एलपी ग्यास सुरक्षासम्बन्धी विशेष सचेतना तथा व्यवहारिक तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
Gas One Nepal Pvt. Ltd. को आयोजना तथा विद्यालयको सहकार्यमा सम्पन्न “Fire Control and LP Gas Safety Awareness Training Programme” ले विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा सुरक्षा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
२०८३ साल जेठ ८ गते शुक्रबार सम्पन्न कार्यक्रममा आगलागी नियन्त्रण, एलपी ग्यासको सुरक्षित प्रयोग, आकस्मिक विपद् व्यवस्थापन तथा प्रारम्भिक उद्धार सम्बन्धी सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी तारकेश्वर नगरपालिकाको मेयर कृष्ण हरि महर्जनले विद्यालयस्तरबाट सुरु गरिएको यस्तो सुरक्षा अभियानले भविष्यमा ठूला दुर्घटना न्यूनीकरण गर्न ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले “सुरक्षा शिक्षा आजको सबैभन्दा महत्वपूर्ण आवश्यकता हो” भन्दै व्यवहारिक ज्ञानले मात्रै संकटको समयमा सही निर्णय लिन सकिने बताउनुभयो।
कार्यक्रममा ग्यास वान नेपाल प्रालिका जापानी प्रबन्ध निर्देशक Hideki Fukui, स्टार सेफ्टी सर्भिसेस प्रालिका सञ्चालक श्यामलाल खनाल, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक पुष्प पौडेल, कम्पनीका म्यानेजर बिनोद गजुरेल, कम्पनीका प्रतिनिधि राजन कुमार गुरुङ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै हिदेकी फुकुईले नेपालमा पनि जापानजस्तै “सेफ्टी कल्चर” विकास गर्नुपर्नेमा जोड दिँदै विद्यालयबाटै सुरक्षा सचेतना सुरु हुनु सकारात्मक सन्देश भएको बताउनुभयो। उहाँले विद्यार्थी, शिक्षक तथा अभिभावकमा सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि भएमा धेरै सम्भावित दुर्घटनाहरू समयमै रोक्न सकिने धारणा राख्नुभयो।
प्रधानाध्यापक पुष्प पौडेलले विद्यालयले शैक्षिक ज्ञानसँगै व्यवहारिक तथा जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै यस्ता तालिमले विद्यार्थीमा आत्मविश्वास, सतर्कता र जिम्मेवारीबोध बढाउने बताउनुभयो। उहाँले आयोजक संस्था तथा प्रशिक्षक टोलीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
तालिमका क्रममा स्टार सेफ्टी सर्भिसेसका प्रशिक्षकहरूले फायर एक्स्टिङ्गुइशर प्रयोग गर्ने सही तरिका, एलपी ग्यास चुहावट हुँदा अपनाउनुपर्ने सावधानी, आगलागीको प्रारम्भिक नियन्त्रण विधि तथा आपत्कालीन अवस्थामा गरिने उद्धार प्रक्रियाबारे विस्तृत जानकारी दिएका थिए। साथै विद्यालय परिसरमै प्रत्यक्ष आगो नियन्त्रण अभ्यास गराइँदा विद्यार्थी तथा शिक्षकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
प्रत्यक्ष अभ्यासमा सहभागी विद्यार्थीहरूले “पुस्तकमा मात्र पढिएको सुरक्षा ज्ञान व्यवहारमा सिक्न पाउँदा आत्मविश्वास बढेको” प्रतिक्रिया दिएका थिए। कार्यक्रममा सहभागी शिक्षक तथा अभिभावकहरूले पनि विद्यालयस्तरमा सञ्चालन गरिएको यस्तो व्यावहारिक तालिमलाई समयानुकूल र अत्यन्त आवश्यक कदमको रूपमा लिएका थिए।
करीब दुई घण्टा सञ्चालन भएको कार्यक्रममा सुरक्षा प्रशिक्षण, व्यवहारिक प्रदर्शन, अन्तरक्रिया, सामूहिक तस्बिर तथा प्रमाणपत्र वितरण कार्यक्रमसमेत समावेश गरिएको थियो। आयोजकका अनुसार आगामी दिनमा काठमाडौं उपत्यकाका विभिन्न विद्यालय तथा समुदायमा पनि यस्ता सुरक्षा सचेतनामूलक कार्यक्रम विस्तार गरिने योजना रहेको छ।





