Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरका पत्रकारको संयुक्त खबरदारी : ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य छैन’

काठमाडौं । तारकेश्वर नगरपालिका क्षेत्रमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूले नगरपालिकाले असार ११ गते जारी गरेको ‘ध्यानाकर्षण’ सम्बन्धी विज्ञप्तिप्रति गम्भीर असहमति जनाउँदै शुक्रबार प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।

पत्रकारहरूले नगरपालिकाको विज्ञप्तिले कुनै एक समाचार वा व्यक्तिगत अभिव्यक्तिलाई आधार बनाएर समग्र पत्रकार समुदायमाथि अविश्वास, पूर्वाग्रह र आरोप लगाउने प्रयास गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन्।

उनीहरूले लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकार संविधानद्वारा सुनिश्चित मौलिक अधिकार भएकाले सार्वजनिक निकायका गतिविधि, निर्णय, सेवा प्रवाह, विकास निर्माण तथा जनचासोका विषयमा समाचार संकलन र सम्प्रेषण गर्नु पत्रकारको संवैधानिक तथा पेशागत दायित्व भएको स्मरण गराएका छन्।

ज्ञापनपत्रमा नगरपालिकाका केही जनप्रतिनिधिबाट पटक–पटक पत्रकारहरूले तयार पारेका समाचारप्रति असन्तुष्टि व्यक्त गर्ने, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाब सिर्जना गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने तथा नगरपालिकासम्बन्धी समाचार प्रकाशन वा प्रसारण भए सामूहिक प्रतिकार गर्ने चेतावनी दिने प्रवृत्ति देखिएको आरोप लगाइएको छ। सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिबाट प्रेस तथा पत्रकारिता पेशाप्रति देखाइएको यस्तो व्यवहार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको पत्रकारहरूको भनाइ छ।

पत्रकारहरूले स्थानीय सञ्चारमाध्यम र पत्रकारहरू नगरपालिकाका आलोचक मात्र नभई स्थानीय विकास, सुशासन र समृद्धिका सहयात्री भएको उल्लेख गर्दै व्यक्तिगत सामाजिक सञ्जालका धारणा वा कुनै एक सञ्चारमाध्यममा प्रकाशित सामग्रीलाई आधार बनाएर सम्पूर्ण पत्रकार समुदायलाई एउटै दृष्टिले हेर्न नहुने बताएका छन्।

ज्ञापनपत्रमा कुनै समाचार तथ्यहीन, भ्रामक वा आचारसंहिताविपरीत भएको ठहरिए त्यसका लागि प्रेस काउन्सिल नेपाल, अदालत वा अन्य सम्बन्धित निकायमार्फत कानुनी उपचार खोज्ने स्पष्ट व्यवस्था रहेकाले सम्पूर्ण पत्रकार समुदायलाई लक्षित गर्दै चेतावनीपूर्ण विज्ञप्ति जारी गर्नु प्रेस स्वतन्त्रतामाथिको अनावश्यक हस्तक्षेप भएको उल्लेख गरिएको छ।

पत्रकारहरूले नगरपालिकासँग पत्रकारप्रति देखिएको पूर्वाग्रही दृष्टिकोण अन्त्य गर्न, विज्ञप्तिमार्फत लगाइएका अप्रत्यक्ष आरोप फिर्ता लिन, सार्वजनिक रूपमा स्पष्ट धारणा व्यक्त गर्न तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन्। साथै पत्रकारमाथि भइरहेको अपमानजनक व्यवहार, पेशागत निषेध र स्वतन्त्रतामाथिको हस्तक्षेपबारे नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल सरकारको समेत ध्यानाकर्षण गराइएको जनाइएको छ।

ज्ञापनपत्रमा रबिन प्रसाद थपलिया, रामशरण न्यौपाने, ऋषि बस्याल, मनोज गजुरेल, रमित बलामी, सनत आचार्यसहित तारकेश्वर क्षेत्रमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको हस्ताक्षर रहेको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले पत्रकारहरूले उठाएका विषयलाई गम्भीर रूपमा लिने, सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको पत्रकारहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै