२७ मंसिर, काठमाडौ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका मण्डनदेउपुरका स्थानीयवासीलाई सोही नदीको पानी पाइपबाट ‘अविरल’ रुपमा घरघरमा आउने भएको छ ।
अर्थात् सिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त इन्द्रावती नदीको पानी मण्डनदेउपुर नगरपालिकाका पाँच हजारभन्दा बढीको ‘जिन्दगानी’ बन्ने भएको हो ।
खानेपानीको चरम अभावका कारण छटपटिएको मण्डनदेउपुरमा गत असारमा बृहत खानेपानी आयोजनाको प्रसाशनिक प्रक्रिया थालियो । त्यसलगत्तै पहिलो चरणमा रु ५४ करोडको ठेक्का आह्वानसमेत गरिएको थियो । गत सालको चैतमा उक्त खानेपानी आयोजनाका लागि सरकारीस्तरबाट रु एक अर्ब स्वीकृत गरिएको थियो ।
खानेपानी आयोजनाको साताअघि मात्रै वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शिलान्यास गर्नुभएको छ । उहाँले तोकिएको समयमै सम्पन्न गर्नेतर्फ दुई प्रदेशसभा सदस्य लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईंलाई समन्वय गर्न आग्रहसमेत गर्नुभएको थियो ।
“आयोजना समयमै सकेर जनताको घरघरमा खानेपानी पु¥याउन तपाईँहरु आयोजनास्थलमा टेन्ट हालेर बस्नुपर्ने पनि हुनसक्छ, यसप्रति ध्यान दिनुहोला”, पाण्डेले उहाँहरुलाई भन्नुभएको थियो । आयोजना तीन वर्षमा सक्ने समयसीमा निर्धारण गरिएको छ । स्वीकृत बजेटमध्ये करिब आधा बजेटमा हाल आयोजनाको प्रारम्भिक ठेक्का सम्झौता भएको छ ।
हाल शर्मा–लामा–रमण जेभी ठेकेदार कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । मण्डनदेउपुर सुख्खा क्षेत्र बृहत खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरपालिकाको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरका १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको उपभोक्ता समितिले जनाएको छ ।
उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयवासीसँग प्रति उपभोक्ता रु एक हजार सङ्कलन गरिरहेको छ । नगरपालिकासँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताउनुभयो ।
उहाँका अनुसार निर्धारित समयमै खानेपानी आयोजना सम्पन्न गर्न हाल तीव्र गतिमा काम भइरहेको छ । हाल ट्याङ्कीको निर्माणसँगै पाइप विछ्याउने काम सुरु गरिएको तामाङले जानकारी दिनुभयो ।





