११ जेठ , काठमाडौ । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण वैशाख महिनामा सुनको आयात ह्वात्तै घटेको छ । भन्सार विभागले आइतवार सार्वजनिक गरेको चालू आवको १० महीनाको तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार वैशाखमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ, जुन सामान्य अवस्थाको भन्दा कम हो । वैशाख अघिसम्म मासिक औसत २ अर्ब १४ करोड रुपैयाँको सुन आयात हुने भएको देखिन्छ । चैतमा ३ अर्ब २ करोड ७१ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो ।
परिमाणका आधारमा वैशाखमा २५८ केजी सुन आयात भएको छ । वैशाख महीना विवाहको सिजन भएकाले सुनको आयात उच्च मात्रामा हुने गर्छ । तर, यसपटक भने निषेधाज्ञाका कारण आयात घटाउनुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।