१६ जेठ ,काठमाडौँ । काठमाडौँ बौद्धमा एक फ्रान्सेली नागरिक मृत फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका – ६ बौद्ध, नयाँबस्तीमा डेरा गरी बस्ने राहदानी नम्बर ०८ सिके ०४१२३ बाहक ६७ वर्षीय फ्रान्सेली नागरिक मार्क गेरार्ड बाजुस शनिबार मृत फेला परेका हुन् ।

उनी लामो समयदेखि सोही क्षेत्रमा बस्दै आएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए । ‘उनी लामो समयदेखि बौद्ध क्षेत्रमा बस्दै आएका थिए । बीचमा आफ्नो देश आउजाउ गर्थे, शनिबार उनको डेरामै शव फेला परेको हो,’ डीएसपी कार्कीले भने । बाजुस एक्लै हिँड्ने गरेका र उनका खासै साथीहरु नभएको कार्कीले बताए । उनले के काम गर्दै आएका थिए र पछिल्लो समय कहिले नेपाल आएर बस्दै थिए भन्ने पनि खुलिसकेको छैन ।

प्रहरीका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन । बाजुसले केही दिनदेखि घाँटी दुखेको बताउँदै आएका थिए । तर, उनको शरीरमा शंकास्पद कुनै घाउ चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । उनको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।