२९ वैशाख, काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको तथ्यांकअनुसार हालसम्म नेपालमा ६२ हजार ७५ जना नर्सले लाइसेन्स प्राप्त गरेका छन् ।

त्यस्तै २०७७ चैत पहिलो हप्तासम्म ३५ हजार १६८ जना अनमी र ८४४ जना विदेशी नर्स गरी जम्मा नर्सिङ जनशक्तिमा ९८ हजार ८४ जना छन् । दर्ता भएका मध्ये करिब २० हजार नर्स विदेश गएको तथा करिब ५ हजार जनाको मृत्यु भएको काउन्सिलको अनुमान छ ।

मुलुकभर १२० वटा जति सरकारी अस्पतालमा करिब १४ हजार नर्स कार्यरत छन् । निजी क्षेत्रमा कति नर्स छन् भन्ने यकिन तथ्यांक छैन तर करिब १५ हजार कार्यरत रहेको अनुमान नर्सिङ काउन्सिलको छ ।


जनस्वास्थ्य विज्ञ डा। समीरमणि दीक्षित अहिलेको संकटमा बेरोजगार रहेका नर्सहरू परिचालन गर्न सकेमा सहज हुने बताउँछन् । ‘कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको छ, संक्रमितको हेरचाहका लागि जनशक्ति अभाव छ,’ डा। दीक्षित भन्छन्, ‘विशेष गरी इमरजेन्सी र क्रिटिकल अवस्थामा पनि काम गर्न सक्ने गरी तालिम दिएर नर्सहरूलाई ठाउँठाउँमा परिचालन गर्न सके राम्रो हुन्थ्यो ।’
उचित व्यवस्थापन गरेर बेरोगजार नर्सहरू परिचालन गरेमा एकातिर उनीहरूले रोजगार पाउने थिए भने अर्कातिर बिरामीले हेरचाह । सरकारले स्थानीय तहसँग समन्वय गरेर दुर्गम गाउँमा र नर्स अभाव रहेका सरकारी अस्पतालहरूमा तालिमप्राप्त नर्स पठाउन उचित हुने डा। दीक्षितको सुझाब छ ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० को मापदण्डअनुसार प्रति १ हजार जनसंख्यालाई कम्तीमा तीन जना नर्स आवश्यक पर्छ । हाल नेपालको जनसंख्या ३ करोड मान्ने हो भने डब्ल्यूएचओ मापदण्डअनुसार ९० हजार नर्स कार्यरत हुनुपर्छ । नेपालमा करिब ३५ हजार नर्स कार्यररत रहेको अनुमान छ । नर्सको यो संख्या प्रति एक हजार जनसंख्यामा १ दशमलव १६ जना हो । अर्थात करिब ८५८ जनसंख्यामा १ नर्स कार्यरत छन् । नेपाल सरकारले डब्ल्यूएचओको मापदण्डमा हस्ताक्षर गरेको छ ।





