२१ वैशाख, पर्सा । पर्सामा थप ७ दिन निषेधाज्ञा लम्बिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवसथापन केन्द्रको बैठकले थप ७ दिन निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्यउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । यसअघि बैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो । निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । ‘ यसअघि लगाइएको निषेधाज्ञा भोलिसम्मका लागि कायम छ, डीसीसीएमसीको बैठकले एक साता थप गर्न सिफारिस गरेको छ ।’ उनले भने ‘ त्यसबारेमा भोलि सूचना निकाल्छौं ।’

‘पर्सा जिल्लामा कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड–१९ को संक्रमणको श्रृङ्खला तोड्न उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई वैशाख ३० गते राति १२स्०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।’ डीसीसीएमसीको निर्णयमा उल्लेख छ ।

त्यसैगरि बैठकले वीरगञ्ज महानगरपालिकालाई १ सय बेडको कोरोना अस्पताल र १ सय बेडको आइसोलेसन सञ्चालन गर्न अनुमति पनि दिएको छ । कोभिड–१९ को संक्रमित विरामीको उपचार गर्न महानगरले १ सय बेड क्षमताको कोभिड–१९ अस्थायी विशेष अस्पताल यथाशिघ्र सञ्चालनमा ल्याई उपचार सेवा शुरु गर्ने र त्यसैगरी तत्कालै सय बेड क्षमताको आईसोलेशन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको छ ।

कोभिड–१९ को परिक्षण गर्ने कार्यलाई सहज बनाउन महानगरपालिकाले स्वाब संकलन केन्द्र स्थापना गरी स्वाब संकलन गर्ने र संकलित स्वाबको परिक्षण नारायणी उपक्षेत्रीय अस्पतालमा गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । गोपाल सेवा समितिको धर्मशालामा महानगरपालिकाले त्यस अनुसारको तयारी थालिसकेको महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए । ‘ कोरोना अस्पताल र आइसोलेसन सेन्टरको काम थालीसकेका छौं । छिट्टै सञ्चालनमा आउँछ ।’ उनले भने ‘ स्वाब संकलन अस्पतालमा गर्दा अव्यवस्थित भइरहेको गुनासो आईरहेको छ । त्यसैले महानगरले व्यवपस्थित स्वाब संकलन केन्द्र सञ्चालनमा ल्याउँछ, एउटाले पुगेन भने थप्न पनि सकिन्छ ।’

संचालित अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पूर्ण क्षमतामा संचालन गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । अक्सिजन उद्योग पूर्ण रुपमा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने, हाल उत्पादित अक्सिजन स्वास्थ्य क्षेत्रमा उपलब्ध गराउने, अन्यत्र क्षेत्रमा आपूर्ति नगर्ने, अक्सिजन उद्योगहरुबाट हुने अक्सिजनको उत्पादन, भन्डारण र बिक्री वितरणको दैनिक अनुगमन एवं प्रतिवेदन गर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने बैठकले निर्णय गरेको छ ।

नारायणी अस्पताल विकास समिति, पर्साबाट माग गरिएका २ जना कर्मचारीको तलब डीसीसीएमसीले खुवाउने भएको छ । डाक्टर राजिव यादव र नन्दन कुमार सिंहलाई कोभिड–१९ का विरामीको उपचार गर्ने काममा खटाईएको छ । नारायणी अस्पतालले बढीमा चार महिनाको करार सम्झौता गरी काममा लगाउन सक्ने निर्णय डीसीएमसीले गरेको छ । अस्पतालले कार्य गरेको प्रमाणित गरेको आधारमा उनीहरुलाई प्रदेश सरकारले डीसीएमसीलाई गराएको बजेटबाट पारिश्रमिक उपलब्ध गराउने निर्णय बैठकले गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।