५ जेठ,काठमाडौ । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक स्थगित भएको छ ।
आज साँझ ७ बजेका लागि बोलाइएको बैठक भोलि बस्नेगरी स्थगित भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
आजको बैठकमा कार्यदलका सबै सदस्यहरु उपस्थित हुन सक्ने अवस्था नभएपछि भोलि बस्ने गरी बैठक स्थगित गरिएको उनले जानकारी दिए । कार्यदलका सदस्यसमेत रहेका नेता सुरेन्द्र पाण्डेले बैठक लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका कार्यदल सदस्य शंकर पोखरेल अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको बताए ।
आजको बैठकमा कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची थियो।
एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको चर्किएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको छ ।
कार्यदलम संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेता नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्।