
२५ जेठ, काठमाडौ । विराटनगरमा गत बिहीबार मजदुरको ज्यान लिने गरी भएको कार दुर्घटनाका आरोपी रहेका सांसदका छोरा रविन कार्कीविरुद्ध सवारी ज्यान मुद्दामा प्रहरीले ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरू गरेको छ।

प्रहरीले सोमबार जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो। प्रहरीले ७ दिने म्याद थपको माग गरे पनि अदालतले ५ दिनको अनुमति मात्र दिएको हो।

जेठ २० गते बिहीबार राति साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ बर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए।

राजवंशीको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन। दुर्घटनाका मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन्।
रबिन प्रदेश नम्बर १ का सांसद बिन्दिया कार्कीका छोरा हुन्। उनले विराटनगर–५ स्थित होटल एडमायरमा मदिरा सेवन गरेर कार चलाएपछि दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
रबिनसँग सवारी चालक अनुमति पत्र नभएको दाबी गरिएको छ। लाइसेन्सविना नै सवारी चलाएर दुर्घटनामा परी कुनै व्यक्तिको मृत्यु भए, सवारी चालक र सवारी धनीमाथि ‘सवारी ज्यान मुद्दा’ दर्ता हुने कानुनी व्यवस्था छ।
लाइसेन्स नहुने व्यक्तिको हकमा सो मुद्दाको १६१ को दफा २ र दफा ४ आकर्षिक हुने कानुनमा उल्लेख छ।
उक्त कसुर पुष्टि भएको खण्डमा सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ देखि १० वर्षसम्मको कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवाना हुन्छ। सवारी चालक अनुमति पत्र नभएको हकमा पनि थप सजायको व्यवस्था छ।


