२५ जेठ, काठमाडौ । धरान उपमहानगर–१५ बाझगरास्थित प्रहरी चौकीमा आक्रमण गरी फरार भएका दुई जनाले मंगलबार धनकुटा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।
जेठ १३ गते चौकीमा आक्रमण गरी प्रहरीलाई घाइते बनाएका उनीहरू ११ दिनसम्म धनकुटाको शुक्रबारेस्थित जंगलमा लुकेर बसेका थिए ।
धरान र धनकुटाका प्रहरीले जंगलमा व्यापक खोजी गरेपछि धरान–१५ बस्ने ३२ वर्षीय रेगन राई र धरान–४ बस्ने ३० वर्षीय वसन्त राईले धनकुटाका जनप्रतिनिधिमार्फत आत्मसमर्पण गरेका हुन् ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले भने, ‘मुख्य आरोपी रेगन र वसन्त राईलाई आज ९मंगलबार० नै धनकुटाबाट धरान ल्याइँदै छ ।’ उनका अनुसार उक्त प्रकरणमा यसअघि धरानकै कालु लिम्बु, विक्रम राई र सिजन राई तीनजना पक्राउ परिसकेका छन् । पाँच जना अझै फरार छन् ।
‘धम्की आएकाले आफ्नो ज्यानको सुरक्षा माग गर्दै दुई जना युवा चौकीमा पुगेलगत्तै मोटरसाइकल र स्कुटीमा आएका १० जनाले चौकी आक्रमण गरेका थिए,’ उनले भने, ‘प्रहरीले ती दुई जनालाई जोगाउन खोज्दा चौकी इन्चार्ज सुमन दाहाल र अन्य प्रहरी घाइते भएका थिए ।’ उनका अनुसार युवाहरूले चौकीमा तोडफोड गर्नुका साथै ढुंगा हानेका थिए । पक्राउ परेका ५ जना र फरार ५ जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको कार्कीले बताए ।