३२ जेठ , काठमाडौ । सेटिङमा गोरु तस्करी गरेको प्रमाणसहित उजुरी परेपछि कपिलवस्तुमा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूमाथि छानविन सुरु भएको छ ।
घुमुवा प्रहरी र गुप्तचरका अधिकारीले सेटिङ मिलाएर दिनमै २० गाडीसम्म गोरु तस्करी हुन गरेको पाइएपछि छानविन हुन लागेको हो । गृह मन्त्रालयमा उजुरी परेपछि छानविन अघि बढेको छ ।
केही समयअघि नेपाल प्रहरीले महेन्द्र राजमार्गमा तस्करीको गाडी समातेकोमा मिलेमतोमा गाडी र चालकलाई छाडिदिएको थियो । गत २१ जेठमा स्थानीयले रा १ ख २७६२ नम्बरको गाडीमा १३ वटा गोरु फेला पारी प्रहरीलाई बुझाएका थिए ।
मायादेवी ७ स्थित गोरखनाथ बहुउदेश्यीय कृषि फर्मले लक्ष्मी चौपाया सप्लायर्सलाई बिक्री गरेको फर्जी कागज बनाएर तस्करी हुँदै थियो । कागजमा ११ गोरु भनिएकोमा १३ थिए ।
स्थानीयले सो गाडी इप्रका गोह्रसिंहलाई बुझाएका थिए । गोरुहरु बुद्धभुती-१ स्थित गौशालामा झारिएको थियो भने गाडी चालकलाई मुद्दा नचलाउन चलखेल भइरहेको छ ।
स्रोतका अनुसार तस्करहरुले जिल्ला सुरक्षा समितिका नाममा समेत सेटिङ गर्दै आएका छन् । तस्करीमा अवरोध गर्ने स्थानीयलाई गुन्डा लगाएर धम्काउने समेत गुनासो प्रहरीमा पुगेको छ । तर, प्रहरी नै तस्करसँग मिलेकाले नियन्त्रण हुन सकेको छैन ।
केही दिनअघि स्थानीयले ११४ नम्बरको आइसरमा सेटिङमा तस्करी हुँदै गरेका १३ गोरु गोरुसिंगेको चेकिङमा नियन्त्रणमा लिएका थिए । जून तस्करीमा विनायक दुल्लाकोटी र रोशन दुल्लाकोटी भएको खुलेको छ ।
गोरुसिंगेका इन्स्पेक्टर वीरबहादुर सुनार, चन्द्रौटाका गिता चौधरी तथा कृष्णनगरका सुरज खत्री गिरोहसँग मिलेका छन् । गुल्मी घर भई कपिलवस्तु–४ बस्ने शिव सुवेदीले ती प्रहरी कार्यालयमा सेटिङ मिलाएका छन् ।
साथै राष्ट्रिय अनुसन्धान विभागका सई कृष्ण केसी पनि तस्करी गर्ने समूहसँगै हिँड्ने गरेका छन् । त्यस्तै अनुसन्धान सहायक बब्लु चर्तुर्वेदी समेत सेटिङ समूहमा आबद्ध रहेको स्रोत बताउँछ । नेपाल प्रहरीका डिएसपी हरी ओली र घुमुवा असई श्याम चौधरीसँग पनि तस्कर समूहले सेटिङ मिलाएको छ ।
असई चौधरी नियम विपरीत काजमा बसेर घुमुवाका रूपमा पैसा उठाउन सक्रिय छन् । उनीविरुद्ध विभिन्न निकायमा उजुरी परे पनि एक उच्च प्रहरी अधिकारीलाई खुशी बनाएर सरुवा रोक्न उनी सफल भएका छन् ।