२ असार, काठमाडौ । सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोले फसेकाहरूलाई नेपाली सेनाले हेलिकोप्टरबाटै उद्धार थालेको छ ।
मेलम्चीको बाढीपछि एक होटलको छतमा बसेर ज्यान जोगाएका दुई व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेको छ ।
होटलको तल्लो तल्लाहरु बाढीले डुबाएपछि मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । होटलको छतमा बसेर ज्यान जोगाएका उनीहरूलाई हेलिकोप्टरमार्फत सेनाले उद्धार गरेको हो ।
मंगलबार साँझ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले कयौँ बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुको विवरण फरकरफरक आइरहेका छन् ।
सिन्धुपालोच्कबाटै प्रतिनिधिसभामा निर्वाचित स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले ५० जनाभन्दा बढी बेपत्ता भएको जनाएका छन् । प्रशासनले बेपत्ताहरुको यकिन विववरण प्राप्त भइनसकेको र सूचना संकलन जारी रहेको जनाएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उद्धार तथा राहतको काममा हेलिकप्टरमार्फत जनशक्ति परिचालनको भएको प्रजिअ पोखरेलले बताए ।