४ असार, काठमाडौ । बागलुङ जिल्लामा काम गरिरहेका बेला बेहोस भएर ढलेका युवाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका ४ मा बाढीले ल्याएको हिलो माटो र पहिरोको ढुंगा हटाउने क्रममा बेहोस भएका १९ वर्षीय सागर नेपालीको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

अचेत भएका नेपालीलाई उपचारका लागि अस्पताल ल्याउने क्रममै मृत्यु भएको थियो । नेपाली पर्वतको जलजला गाउँपालिका ७ घर भइ उपल्लाचौरस्थित मोटर ग्यारेजमा काम गर्दै आएका थिए ।

ससुरा यामबहादुर बिकसँगै काम गरिहरेका नेपाली दिउँसो बेहोस भएर ढलेका थिए । माटो उठाएर ठेलामा फाल्ने क्रममा ढलेकोले उनलाई करेन्ट लागेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

प्रहरीले भने अहिलेसम्म उनलाई के भएको थियो भन्ने यकिन भइनसकेको बतायो । ‘के भएको थियो अहिले थाहा छैन’प्रहरी नायव उपरीक्षक इकवाल हवारीले भने, ‘पोस्टमार्टमबाट थाहा होला ।’ घटनाको अनुसन्धान भइरहेको हवारीले बताए ।